![]()
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षीय नेताहरुलाई संयमित र मर्यादित भएर प्रस्तुत हुन चेतावनी दिएको छ । शुक्रवारदेखि जारी बैठकमा पौडेल पक्षका नेताहरुले चुनावमा पार्टी पराजय हुनुको सम्पूर्ण दोष सभापति शेरबहादुर देउवालाई लगाउँदै आएका थिए । सोमबार देउवा पक्षका नेताहरुले पौडेल प क्षका नेताहरुको एक–एक जवाफ फर्काउँदै सभापतिलाई दोष दिएर आफू हिरो बन्ने प्रयासमा नलाग्न पौडेललाई चेतावनी दिएका हुन ।
संस्थापन पक्षले चुनावी हारको दोष सभापतिमाथि मात्रै खन्याएर आगामी महाधिवेशनमा बलियो बन्ने प्रयास नगर्न पौडेल पक्षलाई चेतावनी दिएको हो । सोमबारको बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले पौडेल पक्षले भन्दै आएको जसरी चुनावी हारको जिम्मेवारी एक्लै सभापतिले मात्रै लिन नसक्ने जिकिर गरेका छन् ।
सभापति देउवाका निकट रमेश लेखक, डा. डिला संग्रौला र लक्ष्मी परियारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले ब्यहोरेको हारको जिम्मेवारी सबैले लिनुपर्ने बताए । उनीहरुले निर्वाचनमा भोगिएको पराजयको कारण सुक्ष्म ढंगले केलाएर अघिबढ्नु पर्ने बताएका हुन ।
बैठका नेता लेखकले भने, ‘‘चुनावी हारलाई सभापतिको जिम्मामा राखेर भाग्न मिल्छ ? यो गलत कुरो हो, कहीँ पे नजर, कहीँ पे निशाना भनेझैं सभापतिलाई दोष लगाएर महाधिवेशनमा बलियो हुने प्रयास नगर्नुस् ।’’
सामूहिक रुपले गरिएको निर्णयबाट उत्पन्न परिणाम सामूहिक हुने भन्दै हारको जिम्मेवारी पार्टीको ‘फ्रन्ट लाइन’ मा बसेका नेताहरुले लिनुपर्ने नेता लेखकले बताए ।
‘‘कार्यसम्पादन समिति, संसदीय समिति मिलेर बनाउने र टिकट पनि मिलेर बाँड्ने अनि अहिले चुनावी हारको जिम्मेवारी सभापतिले मात्रै लिनुपर्छ भन्ने ?’’ नेता लखेकले प्रश्न गरे । नेतृत्वले सत्ता साझेदार माओवादी केन्द्रलाई आफूसँगै मिलाएर राख्न नसक्नु नेतत्वको रणनीतिक हार भएको स्वीकार गर्दै उनले राजनीतिक रणनीतिको कमीले चुनाव हारिएको बताए ।
त्यस्तै संस्थापन पक्षीय केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस हारको दोष सभापति देउवा एक्लैले नभएर पदीय जिम्मेवारी अनुसार सबैले लिनुपर्ने बताएकी थिइन ।


