![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताउनुभएको छ ।
ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष कार्यक्रममा उहाँले भन्नुभयो “सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ” ।
अध्यक्ष दाहालले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताउनुभयो । “जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो ।
गृहमन्त्रीले सार्वजनिक बसमा फोहर फाल्नेदेखि जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गछौँ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ रुपमा बाँच्न पाउने अधिकारलाई संविधानले ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
विसं २०७४ वैशाख २ गतेबाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।


