![]()
बिरानटगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको सर्वाङ्गिण विकासका लागि सबैभन्दा पहिलो शान्ति र सुशासन आवश्यक पर्ने बताउनु भएको छ । शान्ति र सुशासनपछि मात्रै स्थानीय क्षेत्रको विकास सम्भव भएको र त्यसपछि मात्रै मुलुकको समृद्धि हासिल हानी उहाँले बताउनुभयो ।
लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक छ ।’
मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको प्रष्ट पार्नुभयो ।


