![]()
बीबीसी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अधिकारीहरूलाई भ्रष्टाचारबाट टाढै रहन चेतावनी दिएका छन्। आफू र आफ्नो परिवारका कुनै पनि सदस्यलाई यसबाट टाढा राख्नुपर्ने उनले आग्रह गरेका छन्।
चिनियाँ संसद् नेशनल पीपुल्स कांग्रेसबाट राष्ट्रपति र उपराष्ट्रपति पदमा दुई कार्यकाल मात्र हुन पाइने नियम हटाइए लगत्तै उनको यस्तो भनाइ आएको हो। चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति र उपराष्ट्रपति रहने पाउने व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको थियो।
दुई तिहाइभन्दा बढी बहुमतद्वारा उक्त नियम परिवर्तन गरिएको थियो। कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुईजनाले मात्रै विपक्षमा मत हालेका थिए। उक्त कदमबाट सी आजीवन चिनियाँ राष्ट्रपति हुन पाउने बाटो खुला भएको हो।
सी राष्ट्रपति भएदेखि उच्च पदस्थ अधिकारीहरू भ्रष्टाचार आरोपमा दोषी भएको आरोपमा कारबाही हुने गरेको छ। यद्यपि अझै पनि चीनमा भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन।
सीले कांग्रेसका नेताहरूसँगको वार्तापछि अधिकारीहरूले आर्थिक क्षेत्रमा आत्मनियन्त्रण गर्नुपर्ने र स्वच्छ एवं निष्कलंक सावित गर्नुपर्ने बताएका छन्।


