Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

काठमाडौं । नेपाल बिद्यार्थी संघका नेता सागर भट्टराईले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केप ओलीको नियुक्तिसंगै हुकुमी शासन प्रारम्भ भएको टिप्पणी गर्नुभएको छ ।

एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नेता भट्टराईले मुलुकको संविधान, कानूनी व्यवस्था लगायतका प्रक्रियागत कुराहरु मिचेर प्रधानमन्त्री बन्न बामगठवन्धनले देखाएको हतारो र हर्कत अधिनायकवादको संकेत भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई संविधान मिचेको आरोप लगाउने दलहरुले नै कानूनी व्यवस्थाको धज्जी उडाएकोमा आपत्ती जनाउनुभयो ।

‘प्रधानमन्त्री नियुक्त गर्ने निश्चित बिधि र प्रक्रिया छ । ओली जीले सांसदको पनि शपथ लिनुभएको छैन । प्रधानमन्त्री नियुक्त हुनुअघि संघीय संसदको नेता चयन हुनुपर्ने होइन र ? दलको नेताका रुपमा पनि शपथ लिनुपर्ने होला, ख्वै त यी पूरा गरेको ? ’ भट्टराईले आक्रोशित हुँदै भने ।

नेता भट्टराईले राष्ट्रपतिको भूमिकामाथि समेत आशंका गर्दै भन्नुभयो –‘प्रजातान्त्रिक मुलुकमा जुन अवस्थामा राष्ट्र गणतन्त्रको पथमा बामे सर्दै छ, यस्तो अवस्थामा गणतन्त्रको मान मर्यादालाई वास्ता नगरी, संसदीय दलको नेता चयन नगरी के आधारमा ठाडो नियुक्त गर्नुभयो ?’

‘एउटा चुनावमा केही मत बढी आयो भन्दैमा प्रक्रियागत रुपमा नजाने हो भने लोकतन्त्र, गणतन्त्र भन्नुको के अर्थ रह्यो ? एक महिना भित्र उहाँले संसदमा बहुमत सिद्ध गर्नुहोला, तर के त्यसअघि संसदको कुनै अर्थ छैन ? बहुमत सिद्ध गर्नुअघि उहाँ कुन संसदको प्रतिनिधित्व गर्नुहुन्छ ? सांसदको शपथ नलिने तर प्रधानमन्त्री बन्न हतारो देखाउने, यो के चरित्र हो ?’ भट्टराईले टिप्पणी गर्नुभयो ।

नेता भट्टराईले नेपाल बिद्यार्थी संघ बिधि र बिधानसम्मत हिंडने संगठन भएकाले कुनैपनि दल र नेताहरुले देखाउने हुकुमी पारा नसहने चेतावनी दिनुभयो । यदि यस्तै हो भने नेबिसंघ प्रत्यक्ष निर्वाचित कार्यकारी कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा गइ बाम सरकारबिरुद्ध आन्दोलित हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed