![]()
बीबीसी । जिम्बाब्वेका प्रमुख विपक्षी नेता मोरगेन चाङ्गिराइको निधन भएको छ । ६५ वर्षीय पूर्वप्रधानमन्त्री चाङ्गिराइ क्यान्सरपीडित थिए र दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो।
मुभमेन्ट फर डेमोक्र्या्टिक चेन्ज (एमडीसी) का उपसभापति एलियास मुड्जुरीले समाचार संस्था रोयटर्सलाई भने, “ उहाँको निधन भयो। उहाँको परिवारले मलाई त्यसबारे जानकारी गराएको हो।“
चाङ्गिराइको निधन भएको घोषणा गर्दै मुड्जुरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “हामीले हाम्रा उदाहरणीय र लोकतन्त्रका योद्धालाई गुमायौँ।“
चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिइरहे । चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नुर्पयो।
सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौँदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो।
मुगाबेका उत्तराधिकारी एमर्सन मनाङग्याग्वाविरूद्ध यसै वर्ष हुने चुनावमा एमडीसीको तर्फबाट पार्टीका कसले नेतृत्व गर्ने भन्ने विवाद रहिआएको छ। बीबीसीका जोसेफ विन्टर लेख्छन्, मोरगेन चाङ्गिराइ निकै बहादुर थिए जसले रोबर्ट मुगाबेको तानाशाही शासनविरूद्ध उभिन आफ्नो ज्यानलाई जोखिममा राखे।


