![]()
एजेन्सी,फागुन ।
इंग्लिश क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा सिटीले स्विस क्लब बसेललाई ४ – ० ले हराएको हो । बसेललाई उसैको मैदानमा हराउन सिटीका लागि इल्कय गुन्डुोगानले दुई गोल गरे । त्यस्तै बर्नान्ड़ो सिल्भा र सर्जियो अग्युरोले समान एक एक गोल गरे । जितसँगै सिटीले बसेलविरुद्ध समग्रमा ४ – ० को अग्रता बनाएको छ । र, सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ ।
दोस्रो लेगमा सिटीले झिनो अन्तरको हार र बराबरी खेलेपनि सिटीको क्वाटरफाइनल यात्रा तय हुनेछ । बसेललाई अर्को चरणमा पुग्न दोस्रो लेगमा फराकिलो जित निकाल्नैपर्ने हुन्छ । दोस्रो लेग सिटीको घरेलु मैदानमा मार्च ७ मा हुनेछ ।
घरेलु टोलीविरुद्ध सिटीले खेलको १४ औं मिनेटमा गुन्डोुगानको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको २३ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटी ३ – ० ले अघि रह्यो ।
दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कने कोशिस गर्यो । तर, गोल गर्न सकेनन् । सिटीले भने दोस्रो हाफमा थप एक गोल गर्दै महत्वपूर्ण जित निकाल्यो । खेलको ५३ औं मिनेटमा गुन्डुोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४ – ० को फराकिलो जित दिलाए ।
उता च्याम्पियन्स लिगको अर्को खेलमा युभेन्टस् र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका छन् ।


