![]()
एजेन्सी । नामिबियामा जारी डिभिजन टू क्रिकेटमा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएल क्रिकेटको एक टिम दिल्ली डेयर डेभिल्स निकै उत्साहित भएको । दिल्लीले लामिछानेलाई २० लाख भारुमा आफनो टिममा अनुवन्धित गरेको छ । यस्तोबेला दिल्ली सन्दिपको हरेक प्रदर्शनलाईै नजिकबाट हेरिरहेको छ भने सन्दिप पनि आफनो छनौट सही भएको प्रमाण दिइरहेका छन ।
दिल्लीले आफ्नो सक्रियता ट्विटरमार्फत देखाइरहँदा लाग्छ, अब दिल्लीले सन्दीपलाई वास्तविक हिरो मानिसकेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्लबमा अनुवन्धन गरेपछि दिल्ली सन्दीपको हरेक कुराको ट्विट गर्ने गर्छ।
नेपालले नामिवियाविरुद्धको पहिलो खेल अगावैदेखि दिल्लीले सन्दीपको बारेमा ट्विट सुरु गरेको थियो। त्यसपछि पनि सन्दीपले कति विकेट लेलान् भन्ने प्रश्न समर्थकलाई छाड्छ भने खेल सकिइसकेपछि सन्दीपको स्पेलको तारिफसहितको तथ्यांक ट्विट गर्छ। दिल्लीलाई आफू कति क्षमतावान् छु भन्ने कुराको प्रमाण पनि सुरुवातबाटै सन्दीपले निरन्तर दिइरहेकै छन्।
प्रतियोगिताको पहिलो खेलमा नामिवियाविरुद्ध ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भएका सन्दीपले सोही लयलाई निरन्तरता दिन सफल भए। ओमानविरुद्ध पनि सन्दीपले आफ्नो लगातार विकेट लिने क्रमलाई निरन्तरता दिंदै २ विकेट लिए पनि नेपाल जित्न भने असफल रह्यो। सन्दीपले आफ्नो उत्कृष्ट स्पेललाई निरन्तरता दिँदै पछिल्लो खेल केन्याविरुद्ध थप तिखारे। केन्या ५ पटक विश्वकप खेलिसकेको देश हो, जसले पनि नेपाललाई मानसिक दबाब स्वाभाविक थियो। तर सन्दीपले आफ्नो बलिङ जादू चलाएपछि १७७ रनमा केन्या समेटिएको थियो।
युएईविरुद्ध खेल वर्षाले प्रभावित भएपछि ३४ ओभरमा घटाइएको खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले ७ ओभर बलिङ गर्दै ३० रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए। त्यस खेलमा नेपालले ४ विकेटको जीत निकालेको थियो। प्रतियोगिताको चौथो खेल केन्याविरुद्ध १० ओभर बलिङ गरेका सन्दीपले २० रन मात्र दिएर ५ विकेट लिँदै करिअरकै उत्कृष्ट बलिङ फिगर तयार पारे। त्यही कारण प्रतियोगितामा दोस्रो पटक प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगितामा खेलहरू भइरहँद सन्दीपको जादूले दिल्लीलाई हौसला दिएको छ। साथमा फ्यान फलोइङमा दिल्लीले फड्को मारेको छ। कुनै एक खेलमा सन्दीपले मौका पाएमा प्रमाणित गर्नेमा दिल्ली विस्तारै आश्वस्त हुँदै गएको छ।


