![]()
एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । बुधवारको खेलमा नेपालले जित हासिल गरे सिधै बिश्वकप छनौट खेलका लागि छानिने छ ।
नामिवियामा जारी डिभिजन टु को अन्तिम खेल नेपालका लागि फाइनलभन्दा बढी महत्वपूर्ण छ । यदि क्यानडासँग पराजित भए नेपाली क्रिकेट फेरि पछि धकेलिन सक्छ । त्यसैले नेपालसामु क्यानडालाई पराजित गर्दै अघि बढ्ने सुनौलो अवसरको साथै चुनौती पनि छ ।
जारी डिभिजन टु मा नेपालले लिग चरणको ४ खेल खेलिसकेको छ, जसमा ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ । जारी प्रतियोगितामा बलिङ उत्कृष्ट भइरहेको बेला ब्याटिङ भने बिर्सनलायक बनेको छ । पहिलो खेलमा नेपालले आयोजक नामिवियासँग खेल खेलेको थियो, जुन खेलमा नामिवियाले दिएको १३९ रनको झिनो चुनौती पूरा गर्न पनि नेपालले आफ्नो ९ विकेट गुमाएको थियो ।
दोस्रो खेलमा नेपालले कमजोर मानिएको ओमनसँग नसोचेको ६ विकेटको हार ब्यहोर्नुपर्यो । १३८ रनमै अलआउट भएको नेपाल आफ्नो दोस्रो खेलमा ब्याटिङकै कारण ओमनको सिकार बन्यो ।
तेस्रो खेलमा बलियो प्रतिद्वन्दी मानिएको युएईलाई नेपालले ४ विकेटले पराजित गर्यो । चौथो खेल नेपालको केन्यासँग थियो, जुन खेलमा विगतकै ब्याटिङ लाइन हुने त होइन ? नेपाली खेलाडी पनि चिन्तित बनेका थिए । १७८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो खेलमा पनि नेपालका कप्तान पारस बाहेक अन्य अग्रपंक्तिका ब्याट्सम्यान सस्तैमा आउट भए । कुनै समय हार नजिक रहेको नेपालको इनिङ्स युवा खेलाडी आरिफ शेख र यही प्रतियोगिताबाट डेब्यु गरेका रोहित कुमार पोडेलले सम्हाल्दै जित दिलाए ।
लगातार चार खेलमा निराशाजनक ब्याटिङ गरेको नेपालले क्यानडा विरुद्ध पनि यस्तै प्रदर्शन त गर्ने होइन ? चिन्ता थपिएको छ तर खेलाडीहरु खेलमा फर्कनेमा बिश्वस्त छन ।
क्यानडालाई पराजित गर्दै डिभिजन टु को शीर्ष दुईमा परे नेपालले इतिहास कोर्नेछ तर, क्यानडासँग पराजित भए डिभिजन टुमै सीमित रहनेछ ।


