![]()
काठमाडौं । माघ २४ गते अर्थात बुधवार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनकोसम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचनको सवै तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुने जानकारी दिनुभयो । प्रमुख आयुक्त यादवले नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन मतदाताहरुलाई आह्वान गर्नुभएको छ ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचन मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वा्चित हुने व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट निर्वा्चित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वा्चित हुने छन् ।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वा्चित हुने छन् ।
यस निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।


