![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले कांग्रेसको गुमेको शाख फिर्ता गरी जनताको लोकप्रिय पार्टी बनाउन आफूले पहल गर्ने बताउनु भएको छ ।
काठमाडौं शंखमुलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले प्रजातन्त्रको लागि लडेको पार्टी प्रजातान्त्रिक पद्धती अनुसार चल्न नसक्दा चुनावमा घाटा भएपनि अब त्यसलाई सुधारेर छोडने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टी नेतृत्व विधानअनुसार नचलेको आरोप समेत लगाउनुभयो ।
पार्टीको पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गर्नुभयो ।
नेता सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसद्मा राख्नका लागि जनप्रतिनिधिलाई बेलाबेलामा खबरदारी गर्न सुझाव पनि दिनुभयो ।


