![]()
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको दुई बर्ष पूरा भएको छ । बि.स. २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्प र त्यसपछि गएका पराकम्पले भएको क्षतिपछि प्राधिकरण स्थापना गरिएको हो । खासगरी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्राधिकरण गठन गरिएको हो ।
स्थापनाको दुई वर्ष पूरा हुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको निजी आवास निर्माणतर्फ निकै न्यून मात्रै काम गरेको छ । साढे सात लाख लाभग्राही सूचीमा रहेका पीडित मध्ये २६ हजार अर्थात ४ प्रतिशतभन्दा कमले मात्र हालसम्म घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता पाएका छन, अझै ११ प्रतिशतले पहिलो किस्ता समेत पाउन सकेका छैनन ।
प्राधिकरणमा हुने गरेको राजनीतिक खिचातानी, र सम्बन्धित मन्त्रालयबीच समन्वयको अभाव जस्ता विषय त्यसको कारण रहेको मानिएको छ । प्राधिकरणले प्राविधिक अप्ठ्यारोलाई मुख्य कारण बताउँदै आफ्नो बचाउ गरेको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मुख्य प्राथमिकतामा राखेको भूकम्प पीडितहरुलाई घर निर्माणमा सहयोग गर्ने योजना अन्तर्गत प्राधिकरण स्थापना भएको २ वर्ष पूरा हुँदा निकै कमले मात्र तेस्रो चरणको किस्ता पाउन सकेको देखिन्छ ।
लाभग्राहीको सूचीमा परेका साढे सात लाख बढी मध्ये ८९ प्रतिशतले पहिलो किस्ता रकम लिइसकेका छन् । दोस्रो किस्ता लिनेको संख्या १ लाख ९ हजार अर्थात् करिब १३ प्रतिशत छ । प्राधिकरणले भने मापदण्ड बमोजिम भूकम्प प्रतिरोधी बलियो घर बनेको वा नबनेको भनी प्राविधिकहरुले निरीक्षण गर्ने गरेको र उनीहरुका प्रतिवेदनका आधारमा अनुदान रकम निकासा गर्ने गरिएको बताएको छ ।
वैदेशिक अनुदान र बजेटको समस्या नभए पनि प्राधिकरणमै भएको राजनीतिकरण र सम्बन्धित मन्त्रालयको बेवास्तालाई पनि कतिपयले ढिलाईको कारण मान्छन् ।


