![]()
बिबिसि । अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीहरुले आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको भन्दै उनीहरुमाथि प्रतिबन्धहरु लगाएको छ । यी दुवै अधिकारीहरुको नाम गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्धहरु लगाउन प्रस्तुत गरेको प्रस्तावमा सूचिकृत थियो ।
संयुक्त राष्ट्रसंघले शुक्रबार १६ जना उत्तर कोरियालीमाथि प्रतिबन्धहरु लगाएको थियो । यी दुवै अधिकारीहरु उत्तर कोरियाका नेता किम जङ अनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा खिचिएका तस्वीरमा देखिन्छन् ।
तरल भन्दा ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र बनाउन किम जंग सिकले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । रि प्योङ चोलले भने अन्तरदेशीय हतियारहरु निर्माण गर्ने प्रयासको नेतृत्व गरेको ठानिन्छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबार उत्तर कोरियाले गरेको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणको प्रतिक्रिया स्वरुप उसमाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।
नयँ प्रतिबन्धहरुले यी दुई अधिकारीहरुले अमेरिकामा कुनै रकम कारोबार गरेको भए त्यसलाई रोक्का गर्नेछ । त्यसबाहेक उनीहरुको अमेरिकामा केही सम्पत्ती छ भने पनि त्यसलाई अचल बनाइदिनेछ ।
उत्तर कोरियासँग थप तनावहरु नबढाउन रुसले अमेरिकालाई सचेत गराएको छ र उसँग वार्ता थाल्न पनि आह्वान गरेको छ ।
हालैका महिनाहरुमा उत्तर कोरियाले एकदमै महत्वाकांक्षी किसिमका क्षेप्यास्त्रहरु परीक्षण गरेको छ । उसले अब आफ्ना क्षेप्यास्त्रहरु अमेरिका भर पुग्न सक्ने पनि बताएको छ ।


