Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये २८ दशमलब ५ प्रतिशत अझै गरिबीको रेखामुनी रहेको सरकारी तथ्यांकले देखाएको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको बहुआयामीक गरिबी सूचकांक अनुसार नेपालमा कुल जनसंख्याको २८ दशमलव ५ प्रतिशत अर्थात करिब ८२ लाख व्यक्ति गरिबीको रेखामुनी छन् । स्वास्थ्य, शिक्षा, जीवनयापन, पोषणको अवस्था, लगायतको बहुआयामिक पक्षलाई समेटेर तयार पारिएको अध्ययनले प्रत्येक हजारमा २ सय ८६ व्यक्ति गरिब रहेको जनाएको हो ।

यसअघि केन्द्रीय तथ्यांक विभागले एकल प्रणालीका आधारमा २१ दशमलब ६ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । पछिल्लो अध्ययनका अनुसार प्रदेश नम्बर २ र ६ मा सबैभन्दा बढी लगभग आधा मानिस बहुआयामिक रुपले गरीब छन् । प्रदेश नं २ र ६ मा ५५ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रदेश नं ३ र ४ मा १५ प्रतिशतभन्दा कम तथा प्रदेश नं ५ र ७ मा ३० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् । उमेर समुहका हिसावले सबैभन्दा बढी ९ वर्षसम्मका बालबालिका गरिबीको रेखामुनी छन् । तथ्यांक विभागका महाप्रबन्धक सुमनराज अर्याल र अक्स्फोर्ड युनिभर्सिटीका गरिबी र मानव विकास अभियानका निर्देशक सविना अल्किरेको सहयोगमा प्रतिवेदन तयार पारिएको थियो ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लले सन् २०३० सम्म विकसित मुलुकको सूचीमा जाने लक्ष्य राखेको नेपालका लागि यो प्रतिवेदनले सहयोग र्पुयाउने दाबी गर्नुभयो । नेपालमा मौद्रिक तथा गैर मौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्य प्रभावकारी भएपनि पोषण र शिक्षा क्षेत्रमा सुधार गर्न नीतिगत चूनौती रहेको उहाँको भनाई थियो । कार्यक्रममा अक्सफोर्डका निर्देशक अल्किरेले राष्ट्रिय गरिबी निवारणमा उत्साहजनक रुपमा कमी आएकामा नेपालको प्रशंसा गर्दै आगामी दिनमा तीब्र परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed