Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ट्रम्पको सुरक्षा रणनीतिमा ‘चीन र रूस’ प्रमुख प्रतिष्पर्धी उल्लेख

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गरेका छन् जसले ’अमेरिका फर्स्ट’ वा पहिले अमेरिका भन्ने उनको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ ।

उक्त रणनीतिले आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिँदै कडा सीमा नियन्त्रण र बलियो सेनाको पक्ष लिएको छ । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई विश्व मञ्चमा चुनौती दिइरहेका प्रतिस्पर्धी शक्तिहरुका रुपमा चीन र रुसलाई उल्लेख गरेका थिए । त्यसबाहेक उनले अमेरिकाले आतंकवादी संगठन, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र हिंसात्मक गतिविधि गरिरहेका अन्य समूहबाट चुनौती खेपिरहेको उल्लेख गरेका थिए ।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको उक्त नीति अमेरिकाले बाँकी विश्वलाई कसरी व्यवहार गर्नेछ भन्नेमा केन्द्रीत छ । उनले सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन् र मस्को र बेइजिङलाई अमेरिकाको प्रतिस्पर्धी भनेका छन् ।

ट्रम्पले भने, “हामीले हाम्रा प्रतिद्वन्द्वी शक्तिका रुपमा रुस र चीनको सामना गरिरहेका छौँ। उनीहरु अमेरिकी प्रभाव मान्यता र सम्पत्तिलाई चुनौती दिने कोशिश गरिरहेका छन्।“

उनले थपे, “हामी हाम्रो राष्ट्रिय स्वार्थ संरक्षण गर्ने हिसाबमा ती दुई र अरु देशहरुसँग एउटा दरो साझेदारी निर्माणको प्रयास गर्नेछौँ।“
उक्त दस्ताबेजमा चिनियाँ आर्थिक अभ्यासहरुले अमेरिकीहरुलाई आक्रोशित बनाउने उल्लेख गरिएको छ ।

रुसले चाहिँ अरु देशको आन्तरिक र राजनीतिक मामिलामा हस्तक्षेप गर्ने गरेको सन्दर्भ राखिएको छ । तर अघिल्लो वर्षको अमेरिकी राष्ट्रपति चुनावमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपबारे भने केही उल्लेख गरिएको छैन ।

खासमा धेरै तामझाम विना नै राष्ट्रिय सुरक्षा रणनीतिहरु सार्वजनिक गर्ने गरिन्थ्यो तर आफ्नो चुनावी अभियानमा आर्थिक मुद्दाहरुलाई प्राथमिकता दिने बाचा गरेका ट्रम्पले एउटा विशेष कार्यक्रम गरेर यसलाई सार्वजनिक गर्ने निर्णय लिए ।

उनले भने, “पहिलोपटक अमेरिकी रणनीतिले आर्थिक सुरक्षालाई राष्ट्रिय सुरक्षाको रुपमा मान्यता दिएको छ । देशभित्रको आर्थिक सामर्थ्य र समृद्धि अमेरिकाको शक्ति र देशबाहिर रहेको प्रभावका लागि एकदम महत्वपूर्ण छ ।“

उक्त रणनीतिले अस्वाभाविक रुपमा होमल्याण्ड सेक्युरिटी भनिने आन्तरिक सुरक्षा मामिलालाई जोड दिएको छ ।

उनले सीमा नियन्त्रण र आप्रवासन नीतिहरुबारे बोलेका पनि छन् । तर राष्ट्रपति ओबामाले जसरी जलवायु परिवर्तनको विषय भन्ने उनले उठाएनन् । अमेरिकी मान्यताको कुरा गर्दा, ट्रम्पले अमेरिकाले त्यस्ता मान्यताको प्रवर्द्धन गर्ने तर नथोपर्ने उल्लेख गरे । उक्त दस्तावेजले कानूनी शासन र व्यक्तिगत स्वतन्त्रतालाई त्यस्ता मान्यताका रुपमा उल्लेख गरेको छ तर विश्वव्यापी मानवअधिकार जस्ता शब्दावली उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed