![]()
काठमाडौं । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
पर्सा, बाँके, कैलाली, भैरहवा लगायतका जिल्लाका सबै नाका निर्वाचन हुने मंसिर २१ गते राति १२ बजेसम्मका लागि बन्द गरिएको हो ।
निर्वाचनको सुरक्षामा सीमापारीबाट हुने खतरालाई मध्य नजर राख्दै भारतसँग सीमा जोडिएका क्षेत्र बन्द गरिएको हो । नाका बन्द गरिएसँगै सुरक्षाकर्मीले नेपाल–भारत सीमामा सवारी सधानको आवतजावतमा रोक लगाएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडिको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन् ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, टयाम्पु समेतका सवारीसधानको आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाइ पनि सुरक्षाकर्मीले शारीरिक खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिएका छन् ।
नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ ।


