![]()
बिबिसि । संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबारबाट उत्तर कोरियाको भ्रमण शुरु गर्दै छन् । यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेको थियो । गत साता उत्तर कोरियाले ‘हालसम्मकै सबैभन्दा शक्तिशाली’ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमण हुन लागेको हो ।
उत्तर कोरियाले गत साता परीक्षण गरेको उक्त बलिस्टिक क्षेप्यास्त्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्ने उसले दाबी गरेको छ । कोरियाली प्रायोद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनको यो भ्रमण हुन लागेको हो ।
पूर्व कूटनीतिज्ञ फेल्टमेन संयुक्त राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन् । उनी शुक्रबारसम्म प्योङयाङमा हुनेछन् । दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै ठूलो हवाइ अभ्यास गरिरहेका बेला उनको यो भ्रमण हुँदैछ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री रि योङ हो सहित अन्य ८ उच्च वरिष्ठ अधिकारीहरुसँग भेट्ने र उनीहरुसँग द्वीपक्षीय स्वार्थ र चासोका मुद्दाहरुबारे नीतिगत छलफल गर्ने बताएका छन् । तर फेल्टमेनले उत्तर कोरियाका नेता किम जङ अनसँग भने भेट्ने कार्यक्रम छैन ।
सेप्टेम्बरमा पहिलोपटक अनौपचारिक रुपमा गरिएको आमन्त्रण उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको एकदिनपछि अर्थात नोभेम्बर ३० तारिखमा मात्रै स्वीकार गरिएको थियो । फेल्टमेन सोमबार बेइजिङमा थिए ।
उत्तर कोरिया चीनको प्रमुख आर्थिक तथा कुटनीतिक साझेदार हो । चीनले आफ्ना उच्च कूटनीतिक अधिकारीलाई गत महिना उत्तर कोरियाका अधिकारीहरुसँग वार्ता गर्न प्योङयाङ पठाएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले उत्तर कोरिया संकटबारे मध्यस्थता गरिदिने प्रस्ताव राखेका थिए । अहिले तत्काल उनले प्योङयाङको भ्रमण गर्ने कुनै योजना नरहेको राष्ट्रसंघले जनाएको छ ।


