![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिस २१ गते हुने प्रदेश तथा प्रतिनिधिशभा निर्वाचनको सबै तयारी पूरा भैसकेको जनाउनु भएको छ । काठमाडौंमा रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचन हुने सबै ४५ वटै जिल्लामा सबै प्रकारको तयारी पूरा भैसकेकाले ढुक्क भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
प्रमुख आयुक्त डा. यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको हो । बिगतको तुलनामा सुरक्षामा व्यापक सुधार आएको बताउँदै प्रमुख आयुक्त यादवले उम्मेद्धवारलाई लक्षित गरेर गरिएका आक्रमणप्रति खेद पनि प्रकट गर्नुभयो ।
निर्वाचनमा सर्वसाधारणको व्यापक उत्साह देखिएकाले निर्वाचनलाई पर्वको रुपमा लिन उहाँले सबैलाई आग्रह गर्नुभयो । ‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आममतदाताहरुमा उत्साह छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमालिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म आह्वान गर्दछु ।’ डा. यादवले भन्नुभयो ।


