Breaking News.... EverestOnlineKhabar
April 21, 2026

मण्डेलाको अन्तिम संस्कारमा दशौं लाख डलर घोटाला

Loading

बिबिसि । दक्षिण अफ्रिकाको भ्रष्टाचार नियन्त्रण निकायले चार वर्षअघि भएको अफ्रिकी नेता नेल्सन मण्डेलाको अन्तिम संस्कारमा दशौँ लाख डलरको घोटाला भएको फेला पारेको छ । विवरणहरुका अनुसार एउटा विकास कोषबाट झण्डै २ करोड २० लाख डलर अन्तिम संस्कारका लागि खर्च गरिएको थियो । उक्त रकम सरसफाइ, माटोले बनेका विद्यालयको प्रतिस्थापन र अस्पतालहरुको मर्मत सम्भारका लागि छुट्याइएको थियो । तर, अधिकारीहरुले त्यो रकम टि सर्ट जस्ता सामानको खरिदमा खर्च गरेको पाइएको छ ।

सन् २०१३ को डिसेम्बरमा मण्डेलाको अन्तिम संस्कार इष्टर्न केपको कुनुमा आयोजना गरिएको थियो जसमा विश्वभरका नेताहरुले भाग लिएका थिए । त्यसको एक महिनापछि अनियमितताका विवरणहरु बाहिर आएका थिए ।

९५ वर्षको उमेरमा मण्डेलाको निधन भएको थियो । त्यसको चार वर्षपछि दक्षिण अफ्रिकाका सरकारी अभियोजनकर्ताले राष्ट्रपति जेकब जुमालाई विशेष अनुसन्धान संयन्त्र प्रयोग गरी थप छानबिन गर्न सुझाव दिएका हुन् ।

३०० पृष्ठ लामो प्रतिवेदनमा कसरी इस्टर्न केपका अधिकारीहरुले नियमहरु मिचेर कसरी अनैतिक रुपमा खर्च बढाए भनेर व्याख्या गरिएको छ । दक्षिण अफ्रिकाकी सरकारी अभियोजनकर्ताले एकदमै डरलाग्दो र चिन्ताजनक ढंगले नियम मिचेर अन्तिम संस्कारमा रकम खर्च गरिएको बताएकी छन् । उनका अनुसार खरिद नै नगरिएका चिजहरुको बिल बनाइएको छ र सत्तारुढ अफ्रिकी नेश्नल कांग्रेस स्वयंले नै खर्च कसरी गर्ने भन्नेबारे अधिकारीहरुलाई निर्देशन दिएको थियो ।

एउटा पत्रकार सम्मेलनमा बुसी मुखाभानेले भनेकी छन, “अन्तिम संस्कार जस्तो समारोहमा यस्ता गलत काम हुनु दुःखको कुरा हो, एनसी दलको लेटरप्याड प्रयोग गरिएका बिलहरु समेत हामीले फेला परेका छौँ, हामी अपेक्षा गर्छौँ कि गलत काम गर्नेहरु कारबाहीको दायरामा ल्याइनेछन् ।“

रंगभेद विरोधी आन्दोलनका नायक रहेका मण्डेलाको सम्मानमा आयोजना गरिएका कार्यक्रममा अनियमितता भएको यो पहिलो घटना भने होइन् । अन्तिम संस्कार समारोहमा साङकेतिक भाषामा कुराकानी गर्न प्रयोग गरिएका भाषा अनुवादकलाई गलत संकेतहरु प्रयोग गरेको आरोप लागेको थियो ।

आफ्ना अन्तिम महिनाहरुमा मण्डेलाले आफ्नो विरासतमाथि नियन्त्रण जमाउने प्रयासमा परिवारभित्र भएका कलहहरु पनि भोग्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed