Breaking News.... EverestOnlineKhabar
April 21, 2026

बामगठबन्धन सरकारले बिकासको नयाँ लहर सृजना गरी गरिबी अन्त्य गर्छ : पूर्व प्रधानमन्त्री खनाल

Loading

इलाम । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब बामगठवन्धन सरकारपछि बिकासको नयाँ लहर सृजना हुने र मुलुकमा गरिबी अन्त्य हुने दाबी गर्नुभएको छ ।

इलामको पशुपतिनगरमा चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले बाम सरकारले जनताको भाग्य र भविष्य उज्वल बनाउने बताउनुभयो । अहिले एमाले र माओवादी केन्द्रले वामगठबन्धन गरेर चुनाव लडिरहेकाले बाम उम्मेदवारलाई बिजयी गराउन गतिशील भएर लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेता खनालले कांग्रेसले संविधान जारी हुने बित्तिकै यसको कार्यान्वयनमा जोड दिनुपर्नेमा विदेशीको अनुकूलतामा संशोधन गर्न खोजेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘ कांग्रेस संविधान खोक्रो बनाउने खेलमा लागेकाले संविधानलाई जोगाउनका लागि पनि बाम गठबन्धन अनिवार्य छ । ’

नेपाली कांग्रेसकै कारण हामी विदेशीमा निर्भर रहनु परेको भन्दै खनालले भन्नुभयो, ‘ नेपाली कांग्रेसको राष्ट्रियता खोक्रो छ । विदेशीको पूजा गर्ने राष्ट्रियता हो । कांग्रेसकै कारण मुलुक विदेशी पूँजीपतिको नियन्त्रणमा पुगेको छ । यस्तो व्यवस्था कांग्रेसले ल्यायो । ’

वाम गठबन्धनलाई अझ बलियो र उन्नत बनाएर एउटै कम्प्युनिष्ट पार्टी बनाएर संविधानको संरक्षण, कार्यान्वयन गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने नेता खनालको भनाइ थियो ।

कार्यक्रममा नेता खनालले इलामको गहनाको रुपमा रहेको चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै घोर अपमान भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । यस्तै, बाँसबारी छाला जुत्ता कारखाना र हेटौंडा कपडा कारखानाजस्ता उद्योगहरु विदेशीलाई कौडीको मूल्यमा विक्री गरेर नेपाली कांग्रेसले मुलुकलाई विदेशीहरुको बजार बनाएको आरोप उहाँले लगाउनुभयो ।

उक्त सभामा नेता खनालले नेपाली कांग्रेस र संघीय समाजबादी पार्टीका करिब २०० जनालाई एमालेमा प्रवेश गराउनु भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed