![]()
काठमाडौं । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा अझै पनि ४३ प्रतिशत एच.आई.भी संक्रमित स्वास्थ्य संस्थामा आउन बाँकी रहेको जनाएको छ ।
३० औँ विश्व एड्स दिवसको अवसरमा केन्द्रले तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशत नयाँ संक्रमित उपचारमा आएका तर, ४३ प्रतिशतले उपचार नपाएको जनाएको छ ।
सन् २०१६ को अन्त्य सम्ममा संसारभर ३ करोड ६७ लाख व्यक्तिहरुमा एच.आई.भी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा भने ३२ हजार ७ सय ३५ जना रहेका छन् । ती मध्ये सबै भन्दा धेरै पुरुषको संख्या रहेको छ । २० हजार २ सय ३२ पुरुष,१२ हजार ५ सय ३ महिला,१५ देखि ४९ वर्ष उमेर समुहको जनसंख्यामा एच.आई.भीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
यो संख्या मध्ये नेपालमा ७० प्रतिशत संक्रमणको कारण असुरक्षित यौन सम्पर्कलाई बुझिन्छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले बार्षिक मृत्यु हुने संक्रमितको संख्या ३० प्रतिशतले घटेको जनाए । सन् २०१६ मा कुल एच.आई.भी संक्रमित मध्ये ४० प्रतिशत अर्थात १४ हजार ५ सय ४४ जनामात्र एआरभी उपचारमा छन् ।


