Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पहिलो चरणको निर्वाचनमा सहभागि भएका नेता दोस्रो चरणमा कहाँ कहाँ खटिँदै…?

Loading

काठमाडौ,१२ मंसिर ।
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएपछि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका नेताहरू फुर्सदिला भएका छन्। विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेदवार बनेकालाई ती दलले दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटाउने तयारी गरेका छन्। तीनवटै दलले उनीहरूकै रोजाइमा जिल्ला–जिल्लामा आ–आफ्ना पार्टीका उम्मेदवारको प्रचारमा पठाउन लागेका हुन्।
बाबुराम भट्टराई पूर्व–पश्चिम प्रचारमा हिँड्ने
गोरखा २ बाट चुनाव लडेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई आइतबार काठमाडौं फर्किएका छन्। काठमाडौं, ललितपुर र भक्तपुुरका चुनावी सभालाई सम्बोधन गरेपछि उनी १४ मंसिरदेखि पूर्वी तराईदेखि पश्चिमको कैलालीसम्म पुग्ने कार्यक्रम छ।
नारायणकाजी १६ मंसिरदेखि प्रचारमा सक्रिय हुने
चुनावी धपेडीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ज्वरो आएको छ। गोरखा २ बाट उम्मेदवार बनेका उनी १६ मंसिरदेखि महोत्तरी,मोरङ,धनुषा, पाल्पालगायतका जिल्लाका चुनावी सभामा सहभागी हुँदैछन्।
योगेश आजदेखि चुनावी सभामा सहभागी हुँदै
ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराई मंगलबार तेह्रथुमको चुनावी सभालाई सम्बोधन गर्दै छन्। त्यसपछि उनी झापा र मोरङका सभामा सहभागी हुनेछन्। वाम गठबन्धनको प्रचारलाई व्यवस्थित बनाउने उनले बताए।
केही दिन आराम गरेपछि जिल्ला जाँदै महत र केसी
नुवाकोट १ र २ बाट प्रतिनिधिसभा सदस्य चुनाव लडेका कांग्रेस नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी धपेडीपछि आराममा छन्। जिल्लाको अनुरोधअनुसार प्रचारमा खटिने उनीहरूले बताए।
लोकतान्त्रिक गठबन्धन तराईका जिल्लामा खटिने तयारीमा खतिवडा
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता रामहरि खतिवडा निर्वाचनपछि पनि कार्यकर्तासँग छलफल, कुराकानी र भेटघाटमै छन्।‘जित–हार एउटा ठाउँमा छ, तर मतदान भएपछि चुनावी प्रचारजसरी नै घर–घरमा गएर जनतालाई भेटेँ,अब उदयपुर हुँदै तराईका जिल्लामा कांग्रेसलाई जिताउने अभियानमा जान्छु।’ उनले भने ।
आङदेम्बे प्रदेश नम्बर १ कै जिल्लामा सक्रिय
पाँचथरबाट उम्मेदवार बनेका नेता भीष्मराज आङदेम्बे निर्वाचन सकिएलगत्तै सोमबार झापाको चुनावी सभामा सहभागी भए।‘जिल्लामा चुनाव सकिएलगत्तै प्रधानमन्त्री, रामचन्द्र दाइसहितका नेता सहभागी भएको झापाको सभामा सहभागी भएँ, दुई दिन जिल्लामा बस्छु। त्यसपछि इलाम, मोरङ, धनकुटासहितका जिल्लामा हुने चुनावी प्रचारमा सक्रिय बन्छु।’ उनले भने ।
गौचन पार्टीले खटाएको ठाउँमा जाँदै
मुस्ताङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका रोमी गौचन मंगलबार पोखरामा हुने पार्टीको प्रचार कार्यक्रममा सहभागी हुँदै छन्। त्यसपछि पार्टीले खटाएको ठाउँमा जाने तयारीमा रहेको उनले बताए।
राणा सिन्धुपाल्चोकमै, कार्यक्रम तय हुन बाँकी
सिन्धुपाल्चोक २ बाट कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा सोमबार जिल्लामा बसे। राणाको चुनावी प्रचारमा जाने कार्यक्रम तय भइसकेको छैन। राणाबाहेक राप्रपाका प्रतिनिधिसभामा तीन उम्मेदवार चुनावी मैदानमा छन्। उनीहरू सबैलाई कांग्रेसले समर्थन गरेको छ।
वाम गठबन्धन वर्षमान पुन सोमबारदेखि चुनावी सभामा सक्रिय
रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वर्षमान पुन मंगलबारदेखि दोस्रो चरणमा हुने चुनावी सभामा सहभागी हुने भएका छन्। उनी दाङको भालुवाङ हुँदै ललितपुरको गोटिखेलको सभासम्म आउनेछन्। त्यसपछि दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मोरङ र ललितपुरका चुनावी सभामा खटिनेछन्।
जनार्दन शर्मा दोस्रो चरणको प्रचारमा सक्रिय
पश्चिम रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार भएका जनार्दन शर्माले आइतबार र सोमबार दाङका चुनावी सभालाई सम्बोधन गरेका छन्। मंगलबार काठमाडौंको बानेश्वरमा हुने चुुनावी सभामा प्रचण्ड, केपी ओलीसँगै उनले पनि सम्बोधन गर्नेछन्।
शक्तिबहादुर बस्नेत चुनावी सभामा सहभागी हुने
जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार भएका शक्ति बस्नेत सबै मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिसकेपछि दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटिनेछन्। धेरै ठाउँबाट चुनावी सभाका लागि आग्रह गरेकाले मंगलबार बेलुका कार्यतालिका बनाई चुनावी सभामा सहभागी हुने उनले बताए। बस्नेत प्रदेश नम्बर ५ र ६ पर्ने जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुनेछन्।
अग्निप्रसाद सापकोटा चितवनमा खटिने
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार भएका अग्नि सापकोटा पनि विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन्। सापकोटा चितवनमा हुने विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.