![]()
बिबिसि । स्वतन्त्रता पक्षधर क्याटलान नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा करिब साढे सात लाख मानिसहरुले बार्सिलोनामा प्रदर्शन गरेका छन ।
आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बालेका थिए । पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश हुनेछ ।
स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गर्दैछन् । छुट्टै प्रसंगमा बार्सिलोनाकी मेयरले स्वतन्त्रता पक्षधर नेताहरुको निन्दा गरेकी छन् । स्वतन्त्रतासम्बन्धी मान्यता नपाएको जनमत संग्रह गराएपछि गत महिना क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै मड्रिडले क्याटलोनियाको संसद् विघटन गरिदियो र निर्धारित समय अगावै २१ डिसेम्बरमा क्षेत्रीय चुनाव गराउने घोषणा र्गयो । मड्रिडको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम गए भने उनका उच्च साझेदारहरुमाथि मुद्दा चलाइएको छ ।
स्वतन्त्रता पक्षधर अभियानले ठूलो संख्यामा प्रदर्शनकारीहरु उतार्न सक्ने आफ्नो क्षमता पुष्टि गरेको छ । धेरै प्रदर्शनकारीहरु साना शहर तथा गाउँहरुबाट आएका थिए जुन स्वतन्त्रता अभियानको पहुँचको संकेत हो ।
प्रदर्शनको तात्कालिक उद्देश्य देशद्रोह र विद्रोहको आरोपमा न्यायिक हिरासतमा लिइएका आठजना राजनीतिज्ञ तथा दुईजना अभियानकर्तालाई रिहा गराउनु रहेको छ ।
प्रदर्शनकारीले नियन्त्रणमा रहेका नेताहरुलाई राजनीतिक बन्दी घोषणा गरिएका प्लेकार्डहरु बोकेका थिए ।


