![]()
काठमाडौं । मलेशियामा जारी अण्डर नाइन्टिन बिश्वकप क्रिकेटमा नेपालले भारतलाई पराजित गरेर इतिहास रचेको छ । आफू भन्दा निकै बलियो टेष्ट मान्यता प्राप्त भारतलाई १९ रनले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा पनि सहज बनाएको छ ।
शनिवारको खेलमा बंगलादेशसंग २ विकेटले पराजित भएको नेपालले आइतबार भारतलाई पाखा लगाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । नेपालको पारीमा कप्तान दिपेन्द्र सिंह ऐरीले शानदार ८८ रन बनाए । उनले आफनो इनिङमा ६ चौका र २ बिशाल छक्का प्रहार गरे । अन्य खेलाडीमा जितेन्द्र सिंहले ३६ र भीम शार्कीले १५ रन बनाउनु बाहेक कसैले पनि दोहोरो अंक छुन सकेनन ।
मध्यम लक्ष्य पछ्याएको भारतले शानदार सुरुवात गरेपनि नेपालका बलरसामु उनीहरु घुँडा टेक्न बाध्य भए । कप्तान ऐरी बलिङमा पनि चम्किदै ४ विकेट लिन सफल भएपछि भारत नेपाली बलरसामु निरीह देखियो । भारतले ४८औं ओभरमा १६६ रन मात्र बनाउन सक्यो । नेपालकातर्फबाट पवन सराफ र सहहाब आलमले दुई–दुई विकेट लिए । यस्तै, सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक–एक विकेट लिए ।


