![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु गरेका छन् । उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई ‘युद्ध रुचाउने’ र ’वृद्ध व्यक्ति’ भनेका छन् । उत्तर कोरियाले परमाणु अस्त्रको विकास नरोक्नेमा समेत उनले जोड दिए ।
एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै ट्वीट गरेका छन् । उनले आफूले किम जङ अनलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने बताए ।
आफूले उत्तर कोरियाली नेताको साथी बन्न भरमग्दुर प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुनसक्ला भनेका छन् । यसअघि किम जङ अनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेका थिए ।
केही महिनाअघि ट्रम्पले उत्तर कोरियालाई ‘सिध्याइदिने’ चेतावनी पनि दिएका थिए । त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जङ अनले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भनेका थिए ।
दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जङ अनबीचको वाक्युद्ध साना ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका थिए ।


