![]()
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका सुरक्षा समितिले अति संवेदनशील भनेका स्थानलाई विशेष ध्यान दिंदै निर्वाचन सुरक्षा रणनीति तय गरेको छ ।
सुरक्षा जोखिमलाई ध्यान दिँदै चुनाव हुने जिल्लाहरुलाई वर्गिकरण गरिएको र सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जनाएको छ । खासगरि तराईका कतिपय जिल्लामा कैयौँ मतदानस्थललाई अति संवेदनशील भनी वर्गिकरण गरिएको छ । अन्य स्थानहरुमा पनि अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिमले मतदान स्थलको वर्गिकरण गरिएको छ ।
निर्वाचनको पहिलो घेरा सम्हाल्ने नेपाल प्रहरीले कुल प्रहरीको ७० प्रतिशत अर्थात झन्डै ५० हजार वढी प्रहरी सुरक्षाकर्मी मैदानमा खटिसकेका छन । अहिले दुवै चरणको निर्वाचनको लागि विभिन्न स्थानमा आमसभा भइरहेको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रम गरिरहेका छन् । त्यसमा पनि सुरक्षाकर्मीहरु खटिरहेका छन् ।
निर्वाचनको प्रचार चलिरहेका बेला केही स्थानमा साना हतियार फेला परेका भएपनि सुरक्षामा कुनै समस्या नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
विगतको निर्वाचनको अनुभव र सुरक्षा चुनौतीहरुको आधारमा ती क्षेत्रहरु वर्गिकरण गरिएको मन्त्रालयले जनाएको छ । वर्गिकरण गरिएको क्षेत्रमा सुरक्षा व्यवस्था परिचालन तीन वटै क्षेत्रमा उही भएपनि त्यसमा सुरक्षाकर्मीको संख्या र परिचालन चाँहि फरक हुनेछ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै म्यादी प्रहरी गरी आगामी निर्वाचनमा लगभग ३ लाख सुरक्षाकर्मी खटिने बताइएको छ ।
गत स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोले जनताले चुनाव रुचाएको ठान्दै सुरक्षा निकायहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण हुने विश्वासमा छन ।


