Breaking News.... EverestOnlineKhabar
August 16, 2026

चालकविहीन स्वचालित बस पहिलो दिनमै दुर्घटनामा

Loading

बिबिसि । अमेरिकाको लास भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ । ‘कैयौं’ यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो । दुर्घटनामा कसैलाई चोटपटक लागेको छैन । अधिकारीहरुले लरीका चालकको मानवीय त्रुटिका कारण दुर्घटना भएको जनाएका छन् । ती चालकलाई तत्कालै प्रहरीले रसिद दिएको थियो ।

सो चालकविहीन यात्रु बस अमेरिकाको सार्वजनिक सडकमा पहिलो पटक गुडाइएको हो । गुगलको माउ कम्पनी अल्फाबेटले फिनिक्स एरिजोनामा चालक रहित ट्याक्सी सञ्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि दुर्घटनाको खबर आएको हो । लास भेगसको चालकविहीन बसले नाभ्या नामक कम्पनीले विकास गरेको प्रविधिको प्रयोग गरिरहेको छ र त्यसको परीक्षण लण्डनमा भइरहेको छ ।

अधिक्तम गति ४५ किलो मिटर प्रति घण्टा रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ । साधारणतया उक्त बस २५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गर्छ । सिटी अफ लास भेगसका प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकविहीन बस बिहीवारबाट सञ्चालनमा आउने बताए ।

स्वचालित प्रविधिबाट चल्ने सवारी साधनहरु विगतमा पनि दुर्घटनामा परेका छन् । अहिलेसम्म आएका विवरणमा लगभग सबै दुर्घटनामा मानवीय त्रुटि कारण देखिने गरेको छ । यसै वर्षको सुरुमा उबर नामक कम्पनीले एरिजोनामा चलाएको एउटा स्वचालित गाडी सडकमा रहेको अर्को गाडीका चालकले बाटो नछाड्दा पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.