![]()
गोरखा । नेकपा माओवादी केन्द्रका नेता एवम गोरखा २ बाट प्रतिनिधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गर्नुभएको छ ।
गोरखाको सुलिकोट गाउँ पालिका २ को बारपाकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाबुराम अवसरवादी भएको र अवसरवादीको कुनै बिचार नहुने टिप्पणी गर्नुभयो । गोरखा २ लाई सिंगो देश र अन्तराष्ट्रिय समुदायले समेत हेरेकाले निकै सोच बिचार गरेर मात्र मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता श्रेष्ठले भन्नुभयो, ‘ बाबुराम सावुराम जो आएपनि जित्छौँ भनेर यहाँ आएको हो । बाबुराम लड्ने थाहा थियो । जित्छौँ भनेर आएका हौँ । हाम्रो विचार र बाटो प्रष्ट छ । संविधान लागु गर्छौँ । विकास र समृद्धितिर देशलाई लैजान्छौँ । अरु प्रतिस्पर्धीको विचार केही छैन ।
बाबुरामसँग के विचार छ ? उनको विचार माओवादीसँग हुँदाको बेला भन्ने कि । माओवादी छाडेर नयाँ शक्ति बनाउँदाको विचार भन्ने कि । नयाँ शक्तिले निर्माण गर्न नसकेर मधेश केन्द्रीत दलसँग पार्टी एकता गर्न कोशिस गर्दाको विचार बन्ने कि । संघीय समाजवादीले एकता गर्न नमानेपछि उसको चुनाव चिन्ह मागेर लड्दाको विचार भन्ने कि । स्थानीय तहको चुनावमा कतै जित्न नसकेपछिको विचार बन्ने कि । एमाले र माओवादवीच बामगठबन्धन बनाउँदा अचानक म पनि मिल्छु भनेर आउँदाको विचार भन्ने कि । चार दिनपछि बामगठबन्धन छाडेर हिड्दाको विचार भन्ने कि । अर्को चारदिनपछि फेरि काँग्रेससँग मिल्दाको विचार बन्ने कि ? ’
श्रेष्ठले भन्नुभयो, ‘विचारै नभएको नेतालाई भोट दिने कि, विचार भएकालाई ? कम्युष्टि सरकार बन्न थालेको देख्दा देख्दै गोरखाली जनताले आफ्नो खुटामा बन्चरो हान्ने छैनन् ।’


