![]()
काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पनि आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र र हिन्दूराष्ट्रको पहिचान लक्ष्य रहनेगरी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।
सो पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले बुधवार एक कार्यक्रमकाबीच घोषणपत्र सार्वजनिक गर्नुभयो ।
घोषणापत्रमा निषेधको राजनीतिले मुलुकको हित गर्न नसक्ने भन्दै परम्परागत शक्तिको सम्मान अनिवार्य आवश्यकता भएको उल्लेख गरिएको छ ।
राप्रपा प्रजातान्त्रिकले घोषणापत्रलाई ‘राष्ट्रवाद, प्रजातन्त्र, उदारीकरण र विकासलाई आत्मसात् गर्दै निरन्तरतासहितको सकारात्मक परिवर्तनको उद्देश्यप्रति प्रतिबद्धता’ नाम दिएको छ ।
वाम गठबन्धन मुलुकमा एकदलीय तानाशाह लाद्ने उद्देश्यका साथ आएको भन्दै एकाधिकारवादी व्यवस्थाको प्रतिकार गर्न प्रजातान्त्रिक गठबन्धन अनिवार्य भएको ठहरसमत सो पार्टीले गरेको छ ।
घोषणापत्रमा राप्रपा प्रजातान्त्रिकले स्थिर सरकार, सुशासन, जवाफदेही र भ्रष्टाचार शून्य शासन व्यवस्थाको वकालत गरेको छ ।
खुला र लोककल्याणकारी बजारमुखी अर्थव्यवस्था वकालत गरेको राप्रपा प्रजातान्त्रिकले मुलुकलाई आगामी १० वर्ष्भित्र मध्यम आयस्तरको विकसित राष्ट्रतर्फ स्तरोन्नति गर्ने, वार्षिक प्रतिव्यक्ति आय १ लाख ६५ हजार रुपैयाँ र्पुयाउने लक्ष्य राखेको छ ।


