![]()
जनकपुर । आसन्न प्रदेश र प्रतिनिधिशभा निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषामा अगुवा कार्यकर्ता भेला गरेको छ । पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी केन्द्रीय सदस्य एवम धनुषा ३ का उम्मेदवार बिमलेन्द्र निधि, सिंचाइ मन्त्री महेन्द्र यादव र आनन्द ढुंगानाको उपस्थितिमा कार्यकर्ता भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले मधेसीको पक्षमा संविधान संशोधन गराउन अगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले मधेसी जनताको पक्षमा संविधान संशोधन गराउन कांग्रेस कटिवद्ध भएकाले कांग्रेसलाई दुई तिहाई बहुमत दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मधेसमा अझै पनि गरिबी र पछौटेपन रहेकाले यी समस्याहरुको समाधान संविधान संशोधनबाट मात्र हुने जिकीर गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता विमलेन्द्र निधिले एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनलाई लोकतन्त्रमाथिको षड्यन्त्रको संज्ञा दिनुभयो । निधिले भन्नुभयो , ‘माओवादी र एमालेबीच भएको ६ बूँदे सम्झौताले नेपालमा एकदलीय कम्युनिष्ट शासन प्रणाली लाद्ने आशंका बढाएको छ ।’


