![]()
नुवाकोट,२२ कार्तिक ।
आगामी १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसको तर्फबाट डा. रामशरण महत र वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा छ । पटकपटक अर्थमन्त्री भइसकेका डा. महत र दुई पटकसम्म महतबाटै पराजित तामाङबीचको चुनावी भिडन्त यसपटक निकै रोमाञ्चक हुने अनुमान मतदाताको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा डा. महतले १ सय ४ मतान्तरले तामाङलाई पराजित गरेका थिए ।
महतलाई यसपटक राप्रपा प्रजातान्त्रिकको साथ छ । दोस्रो पटकको संविधानसभा निर्वाचनमा यो मतान्तरलाई डा. महतले बढाएर विजयी भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसहित पटकपटक अर्थमन्त्री भइसकेका डा. महतका लागि यस पटकको चुनाव फलामको चिउरासरह हुने देखिएको छ । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटलाई यसपटक दुईवटा निर्वाचन क्षेत्रमा झारिएको छ ।
नुवाकोट–१ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउँपालिका पर्छन् । १ लाख ५ हजार २ सय ८७ जना मतदाता रहेको यो क्षेत्रमा तामाङ र महतसहित १३ जनाको उम्मेदवारी परेको छ ।
एमाले र माओवादीबीच चुनावी तालमेल भएकाले यो क्षेत्रमा एमाले र परिवार दलसहितले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछ । यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. महतका भतिज एवं प्रदेश–२ ख का उम्मेदवार रमेश महत पनि नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् ।
स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरूले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा महतको भन्दा तामाङको मत १४ हजार ३ सय १० बढी देखिन्छ । डा. महत लोकतन्त्रको रक्षा र अधिनायकवादको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । महतले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन् भने तामाङ परिवर्तनलाई संस्थागत गर्दै दिगो विकास, आर्थिक समृद्धि, समानता र स्थिर सरकारका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् ।


