![]()
गोरखा,२२ कार्तिक ।
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने निर्वाचनमा गोरखा–२ का लागि वाम गठवन्धनका उम्मेदवार माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव प्रचारका क्रममा लडेर घाइते भएका छन् । मंगलवार गोरखाको सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर फर्किँदा श्रेष्ठ लडेर घाइते भएका हुन् । सभास्थलमा लगाइएको डोरीमा अल्झेर उनी घाइते भएका हुन् ।
माओवादी केन्द्रका गोरखाका एक नेताका अनुसार उनको निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको छ । खुट्टामा चोट लागेपछि नेता श्रेष्ठ घरदैलो गर्न नसक्ने अवस्थामा पुगेका छन् । वाम गठवन्धनले बुधवार गोरखाको बारपाकामा चुनावी घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठ घाइते भएपछि बुधवारको घरदैलो कार्यक्रम स्थगित गरिएको जनाइएको छ । यद्यपी चुनावी कार्यक्रममा भने नेता श्रेष्ठ गाडी चढेर पुगेका छन् ।
पैदलै हिँडेर घरदैलो गर्ने तयारी रहेपनि श्रेष्ठ घाइते भएकाले उक्त कार्यक्रम तत्काललाई स्थगित गरिएको चुनाव परिचालन समितिका एक सदस्यले बताए ।


