![]()
काठमाडौं । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि कात्र्तिक १६ गते उम्मेद्वारी दर्ता गर्न आयोगले आग्रह गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गर्न आग्रह गरेका हुन् । यसका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी गराएका छन् ।
यस्तै आयोगले राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरुले मनोनयन गर्ने भएकोले त्यसै अनुसारको उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।
आयोगले मतदाता नामावली छपाई कार्य सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र छपाई गर्ने काम सम्पन्न भइसकेको छ ।


