Breaking News.... EverestOnlineKhabar
August 17, 2026

वामगठबन्धनको अन्तिम समानुपातिक सूचीः ६० प्रतिशत महिला समावेश गरेको दावी

Loading

काठमाडौ,१३ कार्तिक ।
वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । दुवै दलले करिब ६० प्रतिशत महिला उम्मेदवार समेटेर सूची बुझाएको दावी गरेका छन् । समानुपातिकतर्फको सूची आइतबार मध्यराति आयोगमा बुझाएका हुन् ।
दुवै दलले केन्द्र (प्रतिनिधिसभा) र प्रदेशसभा दुवैका लागि कुल समानुपातिक सिट संख्या ३ सय ३० जनाकै नाम सूचीमा पेस गरेका छन् । माओवादी केन्द्र प्रवक्ता पम्फा भुसालले केन्द्रमा १ सय १० र प्रदेशमा २ सय २० जनाको सूची आयोगमा कार्यालय समयमै पेस गरिएको जानकारी दिइन् । त्यसमा बढी महिला नै रहेको उनको दावी छ । माओवादी केन्द्रले करिब ६० प्रतिशत महिला उम्मेदवार सिफारिस गरेको दावी गरेको छ भने एमालेले पनि सोही हाराहारी महिला उम्मेदवार समेटेको दावी गरेको छ ।
संविधानले दुवै सभामा ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । प्रत्यक्ष चुनावबाट निर्धारित सिट नपुग्ने हुँदा दलहरूलाई समानुपातिकबाट उक्त प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता छ । त्यसका लागि पनि पुरुषभन्दा बढी नाम समानुपातिक सूचीमा राख्नुपर्ने बाध्यता भएको हो ।
माओवादी केन्द्रबाट समानुपातिकतर्फ पदाधिकारी र सचिवालयमा रहेका नेताहरूले इच्छा देखाएका छैनन् । प्रमुख नेताहरूले प्रत्यक्षतर्फ सिट मिलान गरिरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, देव गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाललगायत नेता प्रत्यक्षमै लड्दै छन् ।
एमालेबाट पनि अध्यक्ष केपी ओलीसहित सबै पदाधिकारी प्रत्यक्षबाट उठ्दै छन् । समानुपातिकमा स्थायी समितिबाट ३ जनाको नाम परेको एक नेताले जानकारी दिए । स्थायी समितिका मुकुन्द न्यौपाने, सोमनाथ प्यासी र डा. पुष्प कँडेल समानुपातिकमा छन् । त्यस्तै, राधा ज्ञवाली, थममाया थापा, रामप्रित पासवान, मणिकुमार लिम्बुसहितका नाम सूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.