![]()
काठमाडौ,१३ कार्तिक ।
नेपाली कांग्रेसले निर्वाचन आयोगलाई समानुपातिकको अन्तिम सूची बुझाएको छ । कांग्रेसले आन्तरिक व्यवस्थापनको लागि ६०–४० बो भागबण्डा मिलाएर समानुपातिकको सूची बुझाएको हो । नेपाली कांग्रेसमा केन्द्रीय कोषाध्यक्षसहित कार्यसमितिका १४ सदस्य समानुपातिकमा बसेका छन् । प्राथमिकताका आधारमा नेताहरूकै नाम अग्रपंक्तिमा राखेर कांग्रेसले आइतबार समानुपातिकको अन्तिम सूची बुझाएको हो ।
संसद्मा प्रतिनिधित्व हुन नसकेका र न्यून प्रतिनिधित्व भएका वर्ग तथा समुदायका व्यक्तिलाई समेट्न समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गरिए पनि राजनीतिक दलहरूले भने त्यसविपरीत सूची तय गरेका छन् । समानुपातिक सूची बुझाउँदा संस्थापन पक्षले ६० र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ४० प्रतिशत हिस्सा लिएका छन् । हालै कांग्रेस प्रवेश गरेका नेता विजय गच्छदारको समूहलाई छुट्टयाएर बाँकी सिटमा दुई पक्षले भागबन्डा गरेका हुन् । समानुपातिक सूची संशोधन देउवा र पौडेल दुवै पक्षले आ–आफ्नो समूहमा गरेका थिए ।
सूची मिलाउन संस्थापन पक्षबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र बालकृष्ण खाँड खटिएका थिए । पौडेल पक्षबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत र मीनेन्द्र रिजाल थिए । दुवै समूहको छलफलसमेत अलग–अलग भएको थियो । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा दुई पटकसम्म यो अवसर प्राप्त गरिसकेका समेत परेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक समानुपातिक सांसद भइसकेकालाई त्यही अवसर नदिने निर्णय लिएको थियो । तर निर्णय उल्लंघन गरी सूची बुझाउँदा दुई पटकसम्म समानुपातिक सांसद भएका आधा दर्जन नेतालाई उम्मेदवार बनाएको छ । यसअघि सूचीमा एक नम्बरमै राखिएका कृष्णप्रसाद सिटौला भने प्रत्यक्षमै उठ्ने भएका छन् । राप्रपासँगको गठबन्धनको कारण जनाउँदै उनलाई समानुपातिक सूचीमा राखिएको थियो । आइतबार समानुपातिक सूचीबाट उनको नाम झिकिएको छ ।
समानुपातिक सूचीमा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, बालकृष्ण खाँड, दिलेन्द्र बडु, सुजाता कोइराला, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, चित्रलेखा यादव, पुष्पा भुसाल, बहादुरसिंह लामा, डिला संग्रौला, सुजाता परियार र लक्ष्मी परियार छन् । समानुपातिकमा पर्नेहरूमध्ये कोषाध्यक्ष यादव, खाँड र लामा दोस्रो संविधानसभामा निर्वाचित थिए । दोस्रो संविधानसभा निर्वाचनमा झिनो मतले विजयी खाँडले यस पटक चुनाव परिचालनको जिम्मेवारी सम्हालेकाले समानुपातिकमै बसेका छन् ।
दुई पटक समानुपातिकबाट सांसद भइसकेकाहरूको नाम भने यस पटक काटिएको छ । यसअघि समानुपातिक सूचीमा राखिएका कमला पन्त, सीता गुरुङको नाम समानुपातिक सूचीबाट हटाइएको हो । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको नाम पनि समानुपातिक सूचीबाट हटाइएको छ । उनलाई मकवानपुर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाइने भएको छ ।
नेताहरू गुरुङ, कोइराला, मानबहादुर विश्वकर्मा, यादव, मीन विश्वकर्मा, परियार यसअघि पनि समानुपातिकबाटै सांसद भएका थिए । एक पटक समानुपातिक सांसद भएकाले अपवादबाहेक पुनः समानुपातिकमा नराख्ने निर्णय भए पनि वाणिज्य मन्त्रीसमेत रहेका मीनसमेत समानुपातिक सूचीमा छन् । नेतृ कोइराला स्वास्थ्यका कारण जनाउँदै समानुपातिकमा बसेकी हुन् । पूर्वकोषाध्यक्षसमेत रहेकी यादव र पार्टीका पूर्वप्रवक्ता बडुले भने आफ्नै निर्वाचन क्षेत्र असुरक्षित भएपछि समानुपातिक रोजेका हुन् ।


