![]()
झापा । झापाको बिर्तामोडमा एक ११ बर्षीय बालकको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य भएको छ । स्थानीय प्रशासन र प्रदर्शनकारीबीच सहमति भएपछि दुइ दिनदेखि जारी तनाव अन्त्य भएको हो ।
झापाको अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न माग गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय नरेश थापा मगरकोसमेत मृत्यु भएपछि तनाव झन भड्किएको थियो ।
प्रशासन र आन्दोलनकारीबीच सहमति भएसँगै स्थिति सामान्यीकरण हुँदै गएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका नरेश थापामगरको परिवारलाई १० लाख रुपैयाँ दिने, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, ६ महिनाको बच्चालाई नगरपालिकाले निःशुल्क अध्ययनको व्यवस्था मिलाउने लगायतका विषयमा सहमति भएको छ ।
बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको छ ।
प्रहरीसंगको झडपमा दानावारी इलामका ३५ वर्षीय मणि नेपाली गम्भीर घाइते छन् । उनको पेट, हात र पिठ्युँमा गोली लागेको छ । बीएण्डसी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । राजगढ ८ का १८ वर्षीय सुनिल पाण्डे, अर्जुनधार ६ का ३५ वर्षीय पूर्ण लुइँटेल, मेचीनगर ९ का ३० वर्षीय अशोक बस्नेत र दुर्गापुर ५ का २२ वर्षीय नवराज कोइराला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।


