Breaking News.... EverestOnlineKhabar
October 2, 2026

गौतमबुद्ध बिमानस्थलको निर्माण कार्य तीव्र पार्न लेखा समितिको निर्देशन, ठेकेदार कम्पनीसंग सांसदहरु आक्रोशित

Loading

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य तीव्र पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । यसका लागि आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको सन्दर्भमा समितिले पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), विमानस्थल आयोजना प्रमुख लगायतसँग दुई दिन छलफल गरेको थियो ।

समितिले आयोजना सम्पन्न हुने समय सकिन अब केही महिना मात्र बाँकी रहँदा २६/२७ प्रतिशत भौतिक र २३ प्रतिशत मात्र वित्तीय प्रगति हुनुले आयोजना समयमा सम्पन्न हुन नसक्ने र शुरुको अनुमानित लागतभन्दा बढी लाग्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।
समितिले स्थानीय आपूर्तिकर्ताबाट नियमित निर्माण सामग्री आपूर्ति हुने वातावरण बनाउन तथा ठेकेदार कम्पनीले प्राप्त गरेको भुक्तानी र सम्पन्न कामबीचको अनुपात यकिन गरी सोही बमोजिम काम गराउन र कार्य सम्पन्न भएको प्रतिवेदन हरेक महिना समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडा लगायतका सांसदले आयोजना निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ले पूर्ण रुपमा जिम्मेवारी लिई फिल्डमा काम नगरेकै कारण निर्माण कार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed