![]()
बिबिसि । उत्तर कोरियाली नेता किम जङ अनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा र्पुयाउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन् । दिवंगत नेता किम जङ इलकी कान्छी छोरी किम यो जङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन् ।
३० वर्षीया किम यो जङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रुपमा चिनिने गरिन्थ्यो । सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जङ अनसँगै देखिने किमको सार्वजनिक छवि बनाउन दाजुले भूमिका निर्वाह गरेको ठानिन्छ ।
प्रचारसम्बन्धी उत्तर कोरियाली विभागको उपनिर्देशक पद सम्हालेकी किम यो जङ पहिल्यैदेखि प्रभावशाली रहिआएकी छन् । उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको आरोपमा संयुक्त राज्य अमेरिकाले उनलाई कालोसूचीमा राखेको छ ।
शनिवार पार्टीको बैठकबाट दर्जनौं उच्च अधिकारीहरुको जिम्मेवारीमा ठूलो फेरबदल गर्ने क्रममा किम जङ अनले बहिनीलाई बढुवा गरेका हुन् ।
गत वर्ष सत्तारुढ पार्टीको कंग्रेसमा महत्वपूर्ण पद दिइएपछि नै भविष्यमा किम यो जङलाई मुख्य नेतृत्वभित्र ल्याइने अनुमान गरिएको थियो । शनिवार गरिएका अन्य महत्वपूर्ण निर्णय अन्तर्गत विदेशमन्त्री री यङ होलाई पोलिटब्यूरोमा ल्याइएको छ ।
गत महिना राष्ट्रसंघको महासंघमा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘दुष्ट राष्ट्रपति’ भनेर सम्बोधन गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतिबन्ध र चेतावनीका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राख्ने किम जङ अनको अडानका माझ बढुवासम्बन्धी निर्णय बाहिर आएका हुन् ।


