![]()
धनुषा,२३ असोज ।
धनुषाको विदेह नगरपालिकामा कांग्रेस कार्यकर्ताले राजपा एक कार्यकर्तालाई छुरा प्रहार गरी घाइते बनाएका छन् । घाइते हुनेमा राजपाका कार्यकर्ता विदेह नगरपालिका–९ का ४५ वर्षका विनोद चौधरी छन् । चौधरीमाथि स्थानीय २३ वर्षका कांग्रेस कार्यकर्ता ललनकुमार साहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । आइतबार विदेह नगरपालिकाको कार्यपालिकाको चुनाव थियो । जसमा कांग्रेस र राजपा तालमेल गरी विजयी भएका थिए ।
स्थानीय राजपाका नेता उदय पाण्डेका अनुसार कांग्रेसका केही कार्यकर्ता विजय जुलुसमा सहभागी भई राति १० बजे रक्सी खाइ फर्केर दरवाजामा गालीगलौज गर्न लागेपछि सामान्य भनाभन भएको थियो । त्यस क्रममा लालन साहले चौधरीको पेटमा छुरा प्रहार गरी घाइते बनाएर फरार भएको पाण्डेले बताए ।
घाइते चौधरीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । छुरा प्रहार घटनामा संलग्नको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।


