![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं चर्चित युवा नेता हिमाल शर्मा काठमाडौ क्षेत्र नं.६ बाट प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार सिफारिस हुनुभएको छ । गत असोज ११ गते नै क्षेत्र नं.६ क्षेत्रिय कमिटीको बैठकले शर्मालाई सर्वसम्मत रुपले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फवाट उम्मेद्वार सिफारिस गरिएका क्षेत्रिय ईन्चार्ज रवि गौतमले जानकारी दिनुभयो ।
शर्मा २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौंको सोहि क्षेत्र नं. ६ बाट पराजित हुनुभएको थियो । त्यो बेला कांग्रेसका भिमसेनदास प्रधान विजयी भएपनि उनले खासै प्रभाव जमाउन सकेनन । शर्माका अर्का प्रतिस्प्रधी एमालेका सचिव योगेश भट्टराई अबको निर्वाचनमा ताप्लेजुंगबाट चुनाव लड्ने भएपछि बाम तालमेलमा समेत हिमाल शर्मालाई बाटो खाली भएको छ । गत चुनावमा पराजित भएपनि नेता शर्मा क्षेत्र नं.६ को विकासको लागि निरन्तर सक्रिय रहेको, स्थानीयस्तरमा भिजेको नेता भएकाले यसपटक उहाँको जित सुनिश्चित रहेको सो क्षेत्रका मतदाता बताउँछन ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नं.६ वाट समानुपातिक तर्फवाट रवि गौतम सिफरिस भएका छन् । प्रदेशसभाको लागि प्रत्यक्षतर्फ ‘क’ मा माधव तिमिल्सेना र ‘ख’ मा रविन्द्र श्रेष्ठलाई उम्मेद्वार सिफारिस गरिएको छ भने प्रदेस समानुपातिकमा ५ जनालाई सिफारिस गरिएको छ ।
माओवादी केन्द्रका नेता हिमाल शर्मा युवामाझ निकै लोकप्रिय हुनुहुन्छ । माओवादीद्वारा संचालित १० बर्षे जनयुद्धको अवधिमा तत्कालिन शाही नेपाली सेनाबाट सबैभन्दा बढी यातना भोग्ने मध्येका एक हुन् हिमाल शर्मा । जनयुद्धको सिलसिलामा तत्कालिन शाही नेपाली सेनाद्वार पक्राउ परि लामो समयसम्म सेनाको कठिन हिरासतमा यातना भोगेका नेता शर्मा खुल्ला राजनीतिमा आएपछि पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष रहेर काम गरेका शर्मा २०६५ को त्रिभुवन विश्वविद्यालय किर्तिपुरको स्ववियु सभापतिमा अत्यधिक मतले विजयी हुनुभएको थियो । आफ्नो कार्यकालमा नेता शर्माले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको शैक्षिक सुधारमा थुप्रै परिर्वतन ल्याउने काम गर्नुभएको थियो । सेमेस्टर प्रणाली उहाँकै पहलमा लागु भएको हो भने स्ववियु चुनावमा २८ बर्षे उमेर हदवन्दी लगाएर फ्रेस विद्यार्थीको नेतृत्व कायम गराउने योगदान पनि उहाँकै हो ।
संघर्षशिलता, इमान्दारीता, राजनीतिप्रतिको लगाव ,विकासप्रतिको छवि, सरल र मिजास स्वभावका कारण माओवादी केन्द्रभित्र मात्र नभई अन्य पार्टीका युवाहरुमाझ पनि शर्मा निकै लोकप्रिय हुनुहुन्छ ।


