![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब ’एउटै कुराले काम गर्ने’ बताएका छन् । ट्रम्पले ट्वीट गरेका छन, “राष्ट्रपतिहरु तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर त्यसले नतिजा निकालेको छैन ।“
यद्यपि ट्रम्पले त्यो ’एउटै कुरा’ बारे थप खुलाएका छैनन् । उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देश चर्को आरोप प्रत्यारोपमा व्यस्त छन् । अमेरिकाले क्षेप्यास्त्र परीक्षणहरु रोक्नका निम्ति उत्तर कोरियामाथि दबाब दिंदै आएको छ । हालै उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने पारमाणु हतियार पनि विकास गरेको बताएको थियो ।
गत महिना राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफ्नो वा आफ्ना साझेदार मुलुकहरुको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ’पूर्णरुपमा ध्वस्त पारिदिने’ चेतावनी दिएका थिए ।
गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ताका लागि प्योङयाङसँग वाशिङटन ’सिधा सम्पर्क’मा रहेको बताएका थिए । त्यसबारे प्रतिक्रिया जनाउँदै ट्रम्पले ट्वीट गरेका थिए, “रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ ।“
ट्रम्पले आफू र विदेशमन्त्रीबीच राम्रो सम्बन्ध रहेको बताएका छन् तर टिलर्सन कडा रुपमा प्रस्तुत हुन सक्ने उनले बताए । टिलर्सनले आफू र राष्ट्रपति ट्रम्पबीच मतभेद रहेको भनी यसै हप्ताको शुरुतिर सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेका थिए ।
सञ्चारमाध्यमहरुका अनुसार टिलर्सनले त्यो बेला ट्रम्पलाई ‘मूर्ख’ भनेका थिए । गत महिना उत्तर कोरियालाई ’नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए । जवाफमा किम जङ अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका थिए ।


