![]()
नीरज अग्रवाल ।
बजार र सामाजिक सञ्जालमा अहिले सर्वाधिक महत्व पाएको एउटै बिषय छ ‘बाम एकता र नेकपा माओबादी– एमालेबीच चुनावी सहकार्य’ । त्यसपछी पार्टी एकीकरण ।
सर्वसाधारणदेखि बौद्धिकबर्गसम्म सबैले उत्सकतापूर्वक यो विषयमा ध्यान केन्द्रीत गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचञ्डबीच हिजोसम्म आरोप प्रत्यारोप थियो । एक अर्कालाई जन्मजात प्रतिद्वन्दी देख्थे, तल्लो स्तरका शब्द प्रयोग गरी गाालीगलौंचमा उत्रिन्थे । तर, आज अचानक सहयात्रा गर्न उहाँहरु गर्व महसुस गर्दै हुनुहुन्छ ।
भनिन्छ राजनीतिमा स्थाइ शत्रु र मित्र हुँदैन । हिजोको शत्रु आज मित्र हुनु राजनीतिमा कुनै नयाँ विषय होइन । एक थरीले भन्न थालिसके, ‘ अब नेपालमा बामपन्थीहरुले सबै सिटमा क्लिन स्वीप गर्छन, बामपन्थीहरुको सहकार्यले नेपाली कांग्रेसले ठूलो क्षती बेहोर्नु पर्छ ।’
केही कांग्रेस नेताहरुलाई यसले झस्काएको पनि होला । तर, सबैले बुझनुपर्ने कुरा के हो भने बाम एकताले कांग्रेसलाई कुनै फरक पर्दैन । कांग्रेस आफैमा लामो इतिहास बोकेको पार्टी हो । जनतालाई आज पनि कांग्रेसप्रति आशा र भरोसा छ । कांग्रेस अन्य पार्टीसंग होइन आफ्नै अन्तर्घातीहरु बाट जोगिन जरुरी छ । आफुले टिकट पाए ठिक अरु ले पाए बेठिक भन्ने मानसिकतबाट कांग्रेस मुक्त हुन पर्छ ।
कांग्रेसले आफना कार्यकर्ताको उचित मुल्याङ्कन गर्दै जिम्मेवारी दिने, मूल्य मान्यता र निष्ठाको राजनीतिलाई मलजल गर्नुपर्छ । जोश र उर्जाले भरिएका नयाँ पुस्तालाई जिम्मेबारी दिएर नेतृत्वमा जाने अवसर प्रदान गर्नुपर्छ । बिपक्षीलाई भन्दा आफ्नै पार्टीका उम्मेद्बार लाई हराउन न्वारन देखीको बल प्रयोग गर्नु कांग्रेस भित्रको ठूलो कमजोरी हो । कांग्रेसले आफना आन्तरिक कमजोरीलाई सुधार गरेर अघि बढन सक्यो भने कसैसंग डराउनुपर्ने अवस्था छैन । कांग्रेस एकबद्ध भएर निर्वाचनमा जाने हो भने कांग्रेसलाई बिजयी हुनबाट कसैले रोक्न सक्दैन । कांग्रेसको युवा पिंढीप्रतिको आकर्षणलाई नेतृत्वले भजाउन सक्नु पर्छ ।
बाम एकता गरेर निर्वाचनमा जान एमाले र माओवादी गठवन्धनलाई सहज छैन । त्यो भित्र पनि थुप्रै असन्तुष्टि छन । गोपाल किरातीको असन्तुष्टि त सार्वजनिक भैसकेको छ । यसको राजनीतिक फाइदा सिधासिधा कांग्रेसलाई छ । कांग्रेस नेतृत्वले पार्टी भित्र यथेष्ट छलफल गरी बिना भेदभाव बुद्धिमतापूर्वक नेता कार्यकर्ताको मुल्याङ्कन गरी जिम्मेवारी प्रदान गरे बाम एकताको घैंटो क्षणभरमै फुटने छ । यसले कांग्रेसको बिजय यात्रा झन बलियो हुनेछ । मुलुकको नेतृत्व गर्ने अवसरलाई कसैले रोक्न सक्ने छैन ।
(लेखक अग्रवाल नेबिसंघका केन्द्रीय सदस्य हुन । )


