![]()
काठमाडौं । दशैं, तिहार र छठजस्ता चाड शरद ऋतुमा चिनीको उच्च खपत हुने भएपनि चिनीमा नेपालको परनिर्भरता कायमै छ । कुनैबेला चिनीमा आत्मनिर्भर हुनै लागेको नेपालले अहिले वर्षेनी १५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिनी विदेशबाट आयात गर्नुपरिरहेको छ ।
चिनी उद्योग र उखु उत्पादक किसानबीच मूल्य निर्धारण र भुक्तानीको तारतम्य मिल्न नसक्दा उखु खेतीबाट किसानहरुको आकर्षण लगातार घटिरहेको छ । उखु किसान अन्य खेतीतर्फ आकर्षित हुन थालेपछि नेपालको तराई भेगमा रहेका चिनी उद्योग नै संकटमा पर्न सक्ने चिन्ता बढेको छ ।
खासगरी उखुको मुल्य र भुक्तानीसम्बन्धी समस्याले किसानहरु निराश भएको बताउँछन् । भुक्तानीको समस्याले अब किसानहरुले केरा खेती गर्न थालेका छन् ।
२०५९ र ०६० सालतिर करिब ५८ लाख क्विन्टलसम्म उखु उत्पादन हुने नवलपरासी जिल्लामा अहिले मुस्किलले १३ र १४ लाख क्विन्टल मात्र उखु उत्पादन हुदै आएको छ । यस्तो समस्या उखु उत्पादन हुने तराईका प्रायः सबै जिल्लामा देखिएको छ ।
उखु उत्पादक महासंघका सदस्य प्रेमचन्द गुप्ताका अनुसार नगदेबाली भनिने उखु ‘उधारो बाली’को रुपमा परिणत गरिएपछि नेपालमा चिनी उत्पादनको अधोगति शुरु भएको हो । उनी भन्छन, “एक त सरकारले समयमै मूल्य निर्धारण गर्दैन र पछि गरे पनि समयमा भुक्तानी हुँदैन। उखु खेती लोप हुने अवस्थामा पुग्दैछ ।“
उखु उत्पादन घट्दै गएपछि चिनी मिलहरु पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । अहिले देशभरी करिब एक दर्जन चिनी मिलहरु सञ्चालनमा छन् र ती मिलहरु क्षमता अनुसार सञ्चालन हुने हो भने नेपाल चिनीमा आत्मनिर्भर हुने बताइन्छ । पूर्णरुपमा स्वदेशी कच्चा पदार्थबाट सञ्चालन हुने चिनी उद्योगको अवस्था खस्किंदै जानुका पछाडि उखुको मूल्य निर्धारणमा सरकारी रवैया व्यावहारिक नभएको जानकारहरु बताउँछन् ।
हाल देशमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग हुने गरेकोमा करिब डेढ लाख मेट्रिक टन मात्र यहाँ उत्पादन हुन्छ भने बाँकी चिनी मुख्य गरी भारतबाट आयात गरिन्छ ।


