![]()
काठमाडौं । दुई वर्ष अर्थात् यही असोजभित्र देशका सबै तुइनहरु विस्थापित गर्न आफैंले तोकेको लक्ष्य हासिल गर्न सरकार असफल भएको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार विभिन्न जिल्लामा रहेका बाँकी तुइनहरु विस्थापित गरी झोलुङे पुल बनाइसक्न कम्तीमा अर्को ६ महिना लाग्नेछ । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो निर्णयका रुपमा दुई वर्ष भित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो । विस्थापित गर्नुपर्ने तुइनको पहिचान गरी झोलुङे पुल निर्माण थालेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले हालसम्म ६३ वटा झोलुङे पुल बनाइसकेको छ । विभागका अनुसार हाल ८१ वटा झोलुङे पुल निर्माणाधीन छन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्रमुख जीवनकुमार श्रेष्ठले भने, “सबै निर्माणाधीन छन, असारभित्र निर्माण सम्पन्न हुन्छ । हामीले एकै पटक ७६ वटाका लागि बोलपत्र आह्वान गर्यौँ र कतिपयले समयमा सर्वेक्षण गरेनन् । त्यसैले ढिलो हुन पुग्यो ।“
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्रमुख श्रेष्ठका अनुसार १० करोड रुपैयाँको लागतमा दुईवटा झोलुङे पुल बनाउन थालिसकिएपनि तिनीहरुको निर्माण सम्पन्न हुन अझ बढी समय लाग्नेछ ।
झोलुङे अथवा पक्की पुलहरु नहुँदा देशका कैयौँ जिल्लामा अझै मानिसहरु जोखिमयुक्त मानिने तुइनबाट खोला तथा नदीहरु तर्ने गरेका छन् ।


