![]()
बिबिसि । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची तयार पारेको छ ।
यो वर्षको सूचीमा परेका महिलाहरुले ’१०० विमिन च्यालेन्ज’ अन्तर्गत विश्वका महिलाले भोगिरहेका प्रमुख समस्याको सामना गर्दै हल खोज्ने प्रयत्न गरिरहेका छन् । चारवटा टोलीमा बाँडिएका ती महिलाहरुले सृजनशील तरिकाको यी विषयहरुसँग जुध्ने उपायबारे आफ्ना अनुभव साट्ने छन ।
उच्चपद प्राप्ति
महिला निरक्षरता
सडक दुर्व्यवहार
खेलमा लैङ्गिक विभेद
यसपालि अझै पनि ४० जना महिलाको चयन हुन बाँकी नै छ ।
‘१०० विमिन’ अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिनेछ ।
‘१०० विमिन’ अन्तर्गत अहिलेसम्म छानिएका ६० जनामा नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ र इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन रहेका छन् ।
अन्य ४० जनाको नाम अक्टोबर महिना लागेपछि थपिने छ ।
कलाकार तथा कवयित्री रुपी कौर एसिड आक्रमणबाट बच्न सफल रेशम खान र टीभी स्टार जीन सिङ पनि यो सूचीमा रहेका छन् ।
’१०० विमिन’ २०१७
नेपालबाट को ?
नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक सूचीमा समावेश छन् । उनी प्रिजनर्स असिस्टेन्स् नेपालकी संस्थापक हुन् ।
उनी भन्छिन, “हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ ।“
जेल सुधार अभियानकर्ता समेत रहेकी इन्दिरा राना मगरले विगत २७ वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आएकी छन् । उनले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी हुन् । उनी एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा छानिएकी छन् ।
आउने सातादेखि बीबीसी नेपाली सेवाले पनि पुरुषहरुको आधिपत्य तोड्दै उच्च पद सम्हाल्न सफल भएका प्रभावशाली महिलाहरुबारे रेडियो र अनलाइनमा विभिन्न सामाग्री राख्दैछ ।


