![]()
चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावमा नेकपा माओवादी केन्द्रसंग तालमेल हुनसक्ने बताउनु भएको छ ।
भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले बामपन्थी दलहरुसंग तालमेल गर्न आफनो पार्टी तयार रहेको र त्यसमा पनि माओवादीसँगको सम्भावना प्रबल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी पनि तयार भएको हो भने राष्ट्रिय रुपमै तालमेल गर्न हामी तयार छौं, होइन भने विभिन्न जिल्ला जिल्लामा र प्रदेश प्रदेशमा पनि गर्नु पर्छ, यसका लागि कुरा भइरहेको छ । ’
नेता नेपालले आफू चुनाव लड्ने ठाउँबारे निर्णय नभएपनि काठमाडौं र रौतहटमध्ये एक ठाउँबाट लड्ने जानकारी दिनुभयो । ‘दुवै ठाउँमा सल्लाह गर्छु, त्यसपछि कहाँबाट चुनाव लड्ने भन्ने निर्णय गर्ने छु,’उनले भने, ‘जनता र कार्यकर्ताको चित्त दुखाउनु भएन । मेरो चाहना जनताले जहाँ माया गर्छन् । त्यहींबाट चुनाव लड्ने छ ।’
नेता नेपालले २ नम्बर प्रदेशको चुनावी परिणामा हेर्दा एमालेको अवस्था सकारात्मक नै भएको दावी गर्नुभयो । समग्रतामा हेर्दाे पार्टी दोस्रो नम्बरमा छ, वडाध्यक्ष र सदस्यको हिसाबले हेर्दा एमाले अघि भएको उहाँले बताउनुभयो ।


