Breaking News.... EverestOnlineKhabar
August 16, 2026

नेपाली कांग्रेसको ‘वारपार’: सर्वोच्चको फैसलामा टिकेको शेरबहादुर र गगनको राजनीतिक भविष्य

Loading

काठमाडौँ ।
नेपाली कांग्रेसभित्रको दशकौँ लामो पुस्तान्तरण र नेतृत्व कब्जाको लडाइँ अब राजनीतिक मैदानबाट बाहिरिएर अदालतको इजलासमा पुगेको छ। पार्टीको आधिकारिकता र वैधानिकतालाई लिएर सुरु भएको यो कानुन र नीतिको जुहारीले कसको हातमा कांग्रेसको कमान सुम्पिनेछ भन्ने अन्तिम निर्णय अब सर्वोच्च अदालतको हातमा पुगेको हो।
विवादको बिन्दु: विशेष महाधिवेशन र संस्थापनको अडान
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको समयावधि र नियमित प्रक्रियालाई मिचेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। निर्वाचन आयोगले उक्त विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले आयोग र नयाँ नेतृत्वको कदमविरुद्ध न्यायिक ढोका ढोका ढक्ढक्याएको थियो।

यसअघि वैशाख ४ गते सर्वोच्चको संयुक्त इजलासले गगन थापा नेतृत्वको समितिलाई नै वैधानिक मान्दै देउवा पक्षको रिट खारेज गरिदिएको थियो। तर, अदालतको उक्त फैसलाविरुद्ध देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहले दिएको पुनरावलोकन (Review) निवेदनमा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति (निस्सा) प्रदान गरेपछि यो मुद्दा फेरि शून्यबाट सुरु भएको छ।
देउवा पक्ष: ‘समानान्तर होइन, विधान मिचियो’
पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहको दाबी छ कि पार्टीको विधान र स्थापित परम्परालाई लत्याएर गरिएको विशेष महाधिवेशन गैरकानुनी थियो। सर्वोच्चले पुनरावलोकनको ढोका खोलेपछि हौसिएको देउवा पक्षले हालै काठमाडौँमा छुट्टै राष्ट्रिय भेलासमेत आयोजना गरी गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिइसकेको छ। उनीहरूको नजरमा अदालतको अन्तिम निर्णयले पुनः पुराना संरचना र देउवाको नेतृत्वलाई नै ब्युँताउने आशा जीवितै छ।
गगन पक्ष: ‘विधानको मर्म र रूपान्तरणको जनादेश’
उता, गगन थापा नेतृत्वको संस्थापन पक्ष भने विशेष महाधिवेशन विधानको धारा १७ (२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग र परिस्थितिको उपज भएको तर्क गर्दछ। निर्वाचन आयोग र अदालतको अघिल्लो फैसलाले आफूहरूलाई आधिकारिकता दिइसकेकाले अब कांग्रेसलाई नयाँ ढङ्गबाट अघि बढाउनुको विकल्प नरहेको उनीहरूको दाबी छ। पार्टीमा रूपान्तरण र पुस्तान्तरणको नारासहित अघि बढेका गगन थापाका लागि सर्वोच्चको यो दोस्रो न्यायिक परीक्षण जीवनमरणको राजनीति जत्तिकै बनेको छ।
न्यायको निर्णय, कांग्रेसको दिशा
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दलको रुख चिह्न र चारतारे झण्डाको आधिकारिक हकदार को हुने? ५ पटक देशको प्रधानमन्त्री भइसकेका पाका नेता शेरबहादुर देउवा कि नयाँ पुस्ताको नेतृत्व गरिरहेका युवा नेता गगन थापा?
सर्वोच्चको पूर्ण इजलासबाट आउने फैसलाले केवल दुई नेताको भाग्यको टुङ्गो लगाउने छैन, यसले समग्र नेपाली कांग्रेसको भावी राजनीतिक दिशा र नेपालको लोकतान्त्रिक दलहरूभित्रको आन्तरिक लोकतन्त्रको नयाँ मानकसमेत तय गर्नेछ। अब सबैको नजर अदालतको अन्तिम इजलासतर्फ मोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.