![]()
काठमाडौं, एभरेस्ट अनलाइन खबर।नेपाली कांग्रेस (देउवा समूह) द्वारा आयोजित दुई दिने राष्ट्रिय भेला/सम्मेलन विभिन्न ५ वटा महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै आज सम्पन्न भएको छ। श्रावण २९ देखि सम्म ३१ गते आयोजित यस सम्मेलनले पार्टीको आगामी नीति, महाधिवेशन तथा समसामयिक राजनीतिक-धार्मिक विषयमा विशेष निर्णयहरू गरेको छ।भेलाले पारित गरेका प्रमुख ५ प्रस्तावहरू निम्नानुसार रहेका छन्:१. देउवाकै सभापतित्वमा १५ औं महाधिवेशन हुने
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमभूतिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिने निर्णय गरिएको छ। उक्त १५ औं महाधिवेशन पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा नै सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकजुट भई महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै महाधिवेशनसम्मका नियमित क्रियाकलापहरू देउवाको निर्देशनमा भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने प्रस्ताव पारित भएको छ।२. राष्ट्रिय मेलमिलाप र लोकतन्त्रको सुदृढीकरण
विक्रम संवत २०३३ सालमा महामानव बीपी कोइरालाले देशको राष्ट्रिय संकटलाई ध्यानमा राखी अंगीकार गर्नुभएको ‘राष्ट्रिय एकता र मेलमिलाप’को नीतिलाई स्मरण गरिएको छ। वर्तमान समयमा पनि देश अप्ठ्यारो स्थितिमा रहेको निष्कर्ष निकाल्दै भेलाले राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने निर्णय गरेको छ।३. सनातन धर्म-संस्कृति र धार्मिक सहिष्णुताको संरक्षण
नेपालको सनातनदेखि चली आएको धर्म-संस्कृति राष्ट्रको मूल पहिचान भएको ठहर गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाइएको छ। हरेक व्यक्ति र समुदायको धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृति धर्मको संरक्षण गर्ने दायित्वसहित ‘सनातन धर्म’लाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित भएको छ।४. आवश्यकता अनुसार संविधान संशोधन
वर्तमान संविधानमा जनताको अपेक्षा र आवश्यकता बमोजिम आवश्यक संशोधन गर्न संविधानमै भएको व्यवस्था अनुसार सम्बन्धित सबै राजनीतिक पक्षहरूसँग संवाद गरी निकास दिने प्रस्ताव भेलाले पारित गरेको छ।५. प्रस्ताव परिमार्जनका लागि एन.पी. साउदको संयोजकत्वमा समिति
सम्मेलनमा प्रस्तुत भएका विभिन्न प्रस्ताव र सहभागीहरूका सुझावहरूलाई समेटेर अन्तिम लिखित रूप दिन केन्द्रीय सदस्य एन.पी. साउदको संयोजकत्वमा एक समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, सिता राना र सहयोगीका रूपमा मीनबहादुर विश्वकर्मा तथा दीपक प्रसाद कुइकेल रहनुभएको छ।



