![]()
काठमाडौं । नेपाल देशभक्त युवा शक्ति केन्द्रका अध्यक्ष केशव सिलवालको अध्यक्षतामा ‘जेन-जी’ आन्दोलन १०० दिन पुगेको अवसरमा काठमाडौंमा विशेष चियापान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
जेन-जी युवा सुमित कुमार ठाकुरको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा भदौ २३ र २४ गतेको ऐतिहासिक आन्दोलनमा सहभागी युवाहरूको भूमिका, वर्तमान चुनौती र सरकारको दायित्वबारे गम्भीर छलफल गरिएको थियो।
सहिदप्रति श्रद्धाञ्जली र घाइतेको हकमा माग
कार्यक्रममा आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो। सहभागी वक्ताहरूले सरकारले घाइतेहरूलाई केवल ‘घाइते भत्ता’ दिएर मात्र आफ्नो दायित्व पूरा नहुने बताए।
अध्यक्ष केशव सिलवालले भन्नुभयो, “देशमा महान परिवर्तनका लागि आफ्नो रगत बगाउने सहिदका परिवार र घाइतेहरूलाई राज्यले सम्मानजनक रोजगारीको व्यवस्था गर्नुपर्छ। भत्ताले मात्रै परिवारको भविष्य सुनिश्चित हुँदैन, उनीहरूलाई आत्मसम्मानका साथ बाँच्ने आधार सरकारले दिनुपर्छ।”
गुटबन्दी अन्त्य र जेन-जीको भूमिका
हाल विभिन्न समूह र गुटमा विभाजित देखिएका जेन-जी युवाहरूलाई एकताबद्ध हुन कार्यक्रमले आह्वान गरेको छ। संयोजक सुमित कुमार ठाकुरले अबको समय व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। भदौ २३ र २४ को आन्दोलनले स्थापित गरेका एजेन्डाहरूलाई निष्कर्षमा पुर्याउन युवाहरूबीचको एकता अनिवार्य रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।
सुशीला कार्की सरकारको कार्यशैलीमाथि प्रश्न
कार्यक्रममा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले चालेका कदमहरूबारे पनि समीक्षा गरिएको थियो। आन्दोलनकारी युवाहरूले सरकारको काम कारबाही सुस्त रहेको र ,भावनाहरूलाई सम्बोधन गर्न ठोस योजना नल्याएको भन्दै ध्यानाकर्षण गराएका छन्। सरकारले आन्दोलनकारीसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरे पुनः सडक संघर्षमा उत्रिने चेतावनी समेत युवाहरूले दिएका छन्।
कार्यक्रमका मुख्य मागहरू:
सहिद परिवार र घाइतेहरूलाई सरकारी सेवामा प्राथमिकता र स्थायी रोजगारीको व्यवस्था।
भदौ २३ र २४ को आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दाहरूको खारेजी।
जेन-जी युवाहरूको भावना अनुसार सुशीला कार्की सरकारद्वारा सुशासनको ग्यारेन्टी।
विभिन्न गुटमा रहेका युवा शक्तिलाई राष्ट्रिय मूलधारमा एकीकरण।
जनकपुरको स्थानीय तहमारहेका युवाहरू जाे कामकाजको सिलसिलामा काठमाडौंमा बस्दै आएका युवाको ठुलो समुहमा सहभागिता रहेको उक्त कार्यक्रमले आगामी दिनमा आन्दोलनलाई थप रचनात्मक र सशक्त बनाउने उद्घोष गरेको छ।


