![]()
काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको ३० कात्तिकको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने, फोटो खिचाउनेहरूको चाप बढेको छ । फोटो खिचाउन चाहने नयाँ मतदाताहरुले त्यसका लागि समय पाउन मुस्किल परेको छ ।
आयोगको वेबसाईटमार्फत मतदाता नामावलीका लागि अलनाइनमा व्यक्तिगत विवरण भरिसकेपछि फोटो खिचाउन सम्पर्क स्थान छान्दा समय नपाइरहेको गुनासो बढेको छ । त्यस्तो समस्या सबैभन्दा बढी जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा गएर फोटो खिचाउन चाहनेले भोगिरहेका छन् । काठमाडौंपछि ललितपुर र भक्तपुरमा पनि समय खोज्दा पनि नपाइएको निर्वाचन कार्यालय काठमाडौं बाहिर भेटिएका सिनामंगलका युवराज गिरीले बताए ।
‘तपाईंले छान्नु भएको स्थान र समयको लागि तोकिएको संख्या(एप्वान्टमेन्ट कोटा) सकिएको छ, कृपया अन्य पायक पर्ने स्थान छान्नुहोला,’ मतदाता नामावालीका अनलाइन फर्म भर्नेहरुले आफ्नो कम्प्युटर स्क्रिनमा पटक–पटक यस्तो म्यासेजको सामना गर्नु परिरहेको छ । पटक–पटकको प्रयासपछि पनि सफलता हात नलागेकहरु साइबरको भर परिरहेका छन् । काठमाडौं निर्वाचन कार्यालय अगाडिका साइबरहरुमा लामबद्ध भीड देखिन्छ । आफूले भर्दा कुनै बेला के मिलेन, कुनै बेला कोटा छैन भनेपछि साइबरबाटै अनलाइन फर्म भर्न खोजेको बानेश्वरकी अंकिता पौडेलले उल्लेख गरिन् ।सरकारले कानुनमा संशोधन गरेर मतदाता नामावलीमा नाम लेखाउनका लागि विशेष व्यवस्था गरेको हो । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम लेखाउन पाइदैनथ्यो । २३ र २४ भदौको जेनजी आन्दोलन पछाडि बनेको सरकारले मतदाता नामावाली ऐनमा संशोधन गरेर छुटेकाहरुलाई नाम लेखाउन अवसर दिएको हो । असोज–९ अध्यादेशमार्फत् ऐन संशोधन भएपछि असोज–१२ बाट आयोगले देशैभर मतदाता नामावली संकलन कार्य थालेको हो ।
२४ कात्तिक सम्म १ लाख ८५ हजार ९ सय १३ जना नयाँ मतदाता थपिएका छन् । कानुनमा संशोधन पछि फोटो खिच्न थालेपछि प्रारम्भिको दिनका तुलनामा नाम दर्ता गराउन आउनेको संख्या सरदर दैनिक ३/४ गुनाले बढेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सुरू सुरूमा दैनिक ५/६ हजारका संख्यामा नयाँ मतदाता थपिएका थिए । अहिले त्यो संख्या बढेर दैनिक २०–२२ हजार पुगेको उनले उल्लेख गरे । अन्तिम समयमा काम गर्ने बानीका कारण एकैचोटी चाप बढेको उनले उल्लेख गरे ।


